२१ कार्तिक
आगामी ४ मंसिरमा तय भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार र निर्वाचन सम्पन्न गराउने अधिकारीहरू आ–आफ्नै तयारीमा लागेका छन् । उम्मेदवारहरू पार्टीको प्रचार प्रसारका लागि कार्यालय खोल्नेदेखि घरदैलो र छलफलमा व्यस्त छन भने निर्वाचनलाई सम्पन्न बनाउन प्रशासन, निर्वाचन कार्यालय र निर्वाचन अधिकृतहरु तयारीमा छन् ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दुई सय आठवटा मतदान स्थल हुने गरी सात सय दुईवटा मतदान केन्द्र जिल्लाभर रहनेको टुंगो लगाएको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २०७४ सालको प्रदेश एवम प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा पाँच लाख ३७ हजार एक सय २१ मतदाता थिए । आगामी निर्वाचनका लागि ३ मंसिरसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्र मतदानमा भाग लिन पाउने प्रावधान छ । मतदाता नामावली दर्ता नागरिकताको आधारमा भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने हुन्छ ।