२०७९ माघ २८, शनिबार ०९:२८

कपिलवस्तु २८ माघ ।लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री लीला गिरीले शुक्रबारकै लागि तयारी गरे पनि मन्त्री छनोटमा केहि समस्या भएपछि आइतबारका लागि सरेको हो । मन्त्रालय भागबन्डा र माओवादी केन्द्र बाहेकका पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लागेको छ । माओवादीमा अझै मन्त्री छनोटबारे विवाद छ ।मुख्यमन्त्री गिरीको आफ्नै सक्रियतामा शुक्रबार भएको छलफलपछि मन्त्रालयको संख्या र बाँडफाँट टुंगिएको हो । मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेले तत्कालका लागि मुख्यमन्त्रीसहित ५ मन्त्रालय राखेको छ ।

जनता समाजवादी पार्टी ९जसपा०लाई दिनुपर्ने अवस्थामा एमालेको मन्त्रालय ४ मात्र हुनेछन् । माओवादीले तीन मन्त्रालय पाएको छ । सरकारलाई समर्थन गरेका दलमध्ये जनमत र राप्रपालाई एक÷एक मन्त्रालय दिने गरी टुंगो लागेको छ । जसपाको भागमा एक मन्त्रालय परे पनि लोसपालाई भने मन्त्रालय छुट्याइएको छैन ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेबाट चेतनारायण आचार्य जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्री, कपिलवस्तुका विष्णु पन्थी स्वास्थ्य मन्त्री, बाँकेका दुर्गाप्रसाद चौधरी सामाजिक विकास मन्त्री र प्यूठानका तुलसीराम शर्मा कृषि तथा सहकारी मन्त्री बन्ने भएका छन् ।माओवादीले आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको छ । माओवादीबाट आर्थिक मामिला मन्त्रालयमा संसदीय दलका नेता जोखबहादुर महरा जाने सम्भावना छ ।

कृष्णा केसीको मन्त्रालय र अर्को मन्त्रीकै टुंगो लाग्न बाँकी छ । भौतिक पूर्वाधार विकास र आन्तरिक मामिलामध्ये एकमा केसीको निश्चित भए पनि अर्को कसलाई पठाउने भन्ने माओवादीमा विवाद छ । रोल्पाका दीपेन्द्र पुन, दाङका इन्द्रजित थारु र धनबहादुर मास्की मन्त्री बन्ने प्रतिस्पर्धामा छन् । थारु पूर्वमन्त्री पनि भएकाले पार्टीको प्राथमिकतामा पुन छन् । तर, टुंगो लाग्न बाँकी छ ।जनमत पार्टीले वन तथा वातावरण र राप्रपाले यातायात, उद्योग, पर्यटन तथा भुमि व्यवस्था मन्त्रालय पाउने भएको छ । जनमत पार्टीबाट संसदीय दलका नेता चन्द्रकेश गुप्ता नै मन्त्री बन्दै छन् ।
वन तथा वातावरण मन्त्री बन्न लागेका उनी रूपन्देहीको ५ ९२०बाट निर्वाचित हुन् । राप्रपाले भने कपिलवस्तुका जानकीप्रसाद यादवलाई मन्त्री बनाउने तयारी गरेको छ । कपिलवस्तु ३ ९२०बाट निर्वाचित यादव यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्री बन्ने भएका छन् । लुम्बिनी प्रदेशमा पुस २७ गते सरकार गठन भएको थियो । माघ ५ गते मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका थिए ।

विश्वासको मत दिने बेला प्रदेशसभामा रहेका १० दल मध्ये ८ दलका ५६ र २ स्वतन्त्र गरी ५८ प्रदेशसभा सदस्यले समर्थन गरेका थिए । मतदानमा भने ५७ प्रदेश सभा सदस्य सहभागी थिए ।सरकारका प्रवक्ता एवं एमाले संसदीय दलका उपनेता आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार हुने निश्चित जस्तै भएको बताए ।
नागरिक उन्मुक्ति पार्टीले भने तत्काल सरकारमा जाने विषयमा कुनै निर्णय गरेको छैन ।

जसपा र लोसपा भने सरकारमा जाने हतारोमा छन् । तर, केन्द्रमा सरकारमा सहभागी नभएको जसपालाई प्रदेशमा सहभागी गराउनका लागि केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म कुनै छलफल र आग्रह नगरेकाले जसपाले पाउने मन्त्रालय पनि एमालेले राख्न लागेको एक एमाले नेताले बताए । उनले लोसपालाई भने विषयगत समिति मात्र दिने गरी छलफल भएको जानकारी दिए ।
  तस्बीर इकान्तिपुरवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय