काठमाण्डौ – काठमाण्डौ जिल्ला अदालतको आदेशपछि नक्कली भुटानी शरणार्थी प्रकरणका १६ जना अभियुक्त जेल चलान भएका छन् ।
शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा भएको थुनछेक बहसपछि १६ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउन आदेश भएसँगै उनीहरूलाई केन्द्रीय कारागार जगन्नाथ देवल पठाइएको हो ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव टेकनारायण पाण्डेलगायत १६ जना जेल चलान भएका छन् ।
यस्तै अदालतले टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।