हुम्ला – हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । हिजो आइतवार रातिसम्म सफा रहेको मौसममा हावाहुरी शुरु भएसँगै आज सोमवार बिहानैदेखि हिमापात शुरु भएको हो ।
हुम्लामा यो वर्षको पहिलो हिमपात भएको हो । हिमपात शुरु भएसँगै किसान खुशी भएका छन् । हिमपातपछि खेती सप्रिने उनीहरूले बताएका छन् । हिमपातले किसान खुशी भए पनि चिसो बढेसँगै जनजीवन प्रभावति भएको छ ।
सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको र उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ को हल्जी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताउनुभयो । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको उहाँले बताउनुभयो ।
हिमपात शुरु हुनुअघि नै उच्च हिमाली क्षेत्रका बासिन्दा बेसी झरिसकेका छन् । हिल्सा नाका खुलेकाले व्यवसाय गर्नेहरू भने उत्तरी नाम्खामै रहेका छन् । हिमपातले सदरमुकाम सिमकोट र डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।