काठमाडौं,
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र स्मार्ट लाइसेन्सको लागि सम्झौता भएको १२ लाख कार्डमध्ये ६ लाख नेपाल आइपुगेको जनाएको छ। विभागका अनुसार बाँकी ६ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ।
विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो। सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा ६ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए।
प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ। बैंकको सबै प्रक्रिया पुर्याएपछि आएको कार्डको ल्याब टेष्ट गराइन्छ।
निर्देशक पनेरुका अनुसार मधेस र बागमती प्रदेशले यस कार्यका लागि बढी चासो देखाएका छन्। मधेस प्रदेशले चालु आवमा स्मार्ट कार्डको छपाइ तथा वितरण गर्ने प्रतिबद्धता जनाएको उनले बताएका छन् ।
निर्देशक पनेरुले सेवाग्राहीले वर्षौँसम्म कार्डका लागि कुर्नुपर्ने समस्या रहेको स्वीकार गरे।
विभागले जारी गरेको इमेलमा जानकारी आएपछि वैदेशिक रोजगारमा जानेलाई तीन दिनभित्रमा लाइसेन्स वितरण गरिरहेको उनले जानकारी दिए।
हाल सबभन्दा बढी करिब ६० प्रतिशत माग बागमती र त्यसपछि क्रमशः मधेस र गण्डकी रहेको छ।