काठमाण्डौ
मनसुन सक्रिय भएर पानी पर्न थालेपछि देशभर गर्मी घटेको छ। अस्ति बुधवारदेखि लुम्बिनी र सुदूरपश्चिममासमेत पानी पर्न थालेपछि पश्चिम तराईमा पनि गर्मी कम भएको छ । धनगढी, नेपालगञ्ज, दिपायल, वीरेन्द्रनगर, घोराही, डढेलधुराको तापक्रममा उच्च गिरावट आएको छ ।
पश्चिम तराईका विभिन्न ठाउँमा अस्ति बुधवारसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भएकोमा हिजो देशका सबै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल झरेको छ ।
अस्ति बुधवार धनगढीको तापक्रम ४२ दशमलव ३ डिग्री सेल्सियस रहेकोमा हिजो ३८ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।
नेपालगञ्जको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियसबाट ३५ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ ।
वीरेन्द्रनगरको तापक्रम पनि ४० दशमलव १ डिग्री सेल्सियसबाट ३५ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यस्तै घोराहीको तापक्रम ३८ दशमलव ४ डिग्री सेल्सियसबाट ३२ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।
मनसुन लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म पुगेको र पर्सि आइतवारसम्म देशभर फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।