२०८१ असार ३०, आईतवार ०५:५६

गुल्मी ।

गुल्मीको रेसुङ्गा नगरपालिका नगर प्रमुख खिलध्वज पन्थीले गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीको रकम भुक्तानी रोकेका छन् ।

जिल्लाको सदरमुकाम तम्घासको अर्घाखाँची जीप पार्कदेखि जन्तेढुङ्गासम्मको सडक कालोपत्र गर्ने कार्य गुणस्तरीय नभएपछि नगरपालिका प्रमुख पन्थीले निर्माण व्यवसायीले पाउने भुक्तानी रोकेका हुन् ।

उक्त सडक कालोपत्रे गर्नका लागि लोहोनि ब्रदर्श कन्स्ट्रक्सनले र सडक पूर्वाधार विकास कार्यालय बीच सम्झौता भई तीन किलोमिटर सडक कालोपत्रे भएको छ ।

रेसुङ्गा नगरपालिकामा पर्ने अर्घाखाँची जीप पार्क देखि जन्तेढुङ्गा सम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने क्रममा गुणस्तरीय नभएकोले भुक्तानी रोक्का गर्नका लागि आफूहरूले सडक पूर्वाधार विकास कार्यालयलाई पत्र लेखेर भुक्तानी रोकेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।

रेसुङ्गा नगरपालिका, निर्माण व्यवसायी र सडक पूर्वाधार विकास कार्यालय प्राविधिक सहितको संयुक्त अनुगमनका क्रममा नाली पनि व्यवस्थित नभएको र सडक अव्यवस्थित रहेकोले उक्त सडकको निर्माण कार्यको सम्पूणर् सुधार र गुणस्तरीय काम नभएसम्मका लागि भुक्तानी रोकिएको नगर प्रमुख पन्थीले जानकारी दिए ।

रेसुङ्गा नगरपालिकाबाट भुक्तानी रोक्न पत्र प्राप्त भएकोले गुणस्तरीय कार्य नगरेसम्म र अपुरा कामहरु नसकेसम्म रकम भुक्तानी रोक्ने सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सचितानन्द चौधरीले बताए ।

गुणस्तरीय काम नगरेका कारण रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले पत्र लेखेर भुक्तानी रोक्न भनेपछि सडक पूर्वाधार विकास कार्यालयले दिनुपर्ने भुक्तानी रोकिएको छ । नगर प्रमुख पन्थीको यो पहलले सडक गुणस्तरीय रुपमा कालोपत्रे हुने स्थानीयको अपेक्षा रहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय