२०८१ श्रावण २१, सोमबार १६:०८

काठमाडौँ, 

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल विद्युत् प्राधिकरणका दुई जना सदस्यहरू– कपिल आचार्य र भक्तबहादुर पुनलाई नियमविपरीत बर्खास्त गरेको आरोप लगाएका छन् । उनले सरकारको निर्णयको भर्त्सनासमेत गरेका हुन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा धारणा राख्दै उनले सरकारले यो देशमा ‘अटोक्रेसी’ चलाउन खोजी रहेको आशङ्कासमेत व्यक्त गरे । उनले भने, ‘अघिल्लो सदनको लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको विषयमा छानबिन गर्न एउटा उपसमिति बनाएको थियो । २०७६ साल साउन ५ गतेको निर्णयबाट सो उपसमिति बनेको थियो । सो उपसमितिमा मिनेन्द्र रिजाल संयोजक तथा तेजुलाल चौधरी, प्रदीप यादव, पार्वती कार्की विशुंखे र सूर्यप्रसाद पाठक सदस्यहरू हुनुहुन्थ्यो ।’

‘आठ महिना लगाएर उपसमितिले १७ पृष्ठको प्रतिवेदन दिएको थियो । प्रतिवेदनको सुझावका आधारमा लेखा समितिको ५३ औँ बैठकले विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनबाट समयमा नै महसुल नतिर्ने उपभोक्ता तथा ग्राहकहरूलाई विद्युत् वितरण नियमावली र विद्युत् महसुल सङ्कलन नियमावलीअनुरूप कुनै कारबाही गरेको नदेखिएको हुँदा आवश्यक कारबाही गर्न गराउन नेपाल सरकारलाई निर्देशन दिने भनिएको थियो,’ उनले भने ।

त्यस्तै, डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुलीसम्बन्धमा विद्युत् प्राधिकरणलाई आर्थिक क्षति हुने र आर्थिक दायित्व बढ्ने गरी कुनै निर्देशन नगर्न र नगराउन पनि नेपाल सरकारलाई निर्देशन दिने भनेर भनिएको उनको भनाई छ । तर, लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ती निर्णयहरूलाई उल्टाउन लागेको उनले आरोप लगाए ।

सापकोटाले भने, ‘सरकार र राज्यका निकाय भनेको अविच्छिन्न उत्तराधिकारवाला संस्थाहरू हुन् । त्यतिबेला लेखा समितिले गरेका यी निर्णयहरूलाई कार्यान्वयन गराउनुको सट्टा लेखा समितिका सभापतिले यी सबै निर्णयहरूलाई लत्त्याएर निर्णयहरू उल्टाउने उद्देश्यका साथ जे छलफल गरिराख्नु भएको छ । यो अनैतिक र घोर आपत्तिजनक छ ।’

‘सभापतिले बक्यौता नतिर्ने उद्योगीसँग रहस्यमय भेट गर्नुभयो । त्यसको उत्तरमा उनले नेपाली नागरिकले भेटघाट गरे भन्नुभयो,’ उनले प्रश्न गरे, ‘भिभान्ता होटल भनेको नेपाली नागरिक भेट्ने सार्वजनिक ठाउँ हो रु कि भिभान्ता नेपाल सरकारको कार्यालय हो भनेर छुट्याउनु पर्‍यो ।’

सापकोटाले सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिनुपर्ने माग समेत गरे । यस विषयमा सभामुखले रुलिङ गर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय