Archives


गुल्मी वामीटक्सारका गृहणीहरुलाई झिनिया बनाउन भ्याइनभ्याइ

वाणगंगा अनलाईन,कार्तिक १०

दशैँमा मासु र तिहारमा रोटीका परिकार खानु नेपाली संस्कार हो । तिहारमा खाइने एक प्रकारको रोटी हो झिनियाँ रोटी, गुल्मी र त्यसआसपासमा अहिले झिनियाँ रोटी बनाउने र बेच्नेलाई भ्याइनभ्याइ छ ।

हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै गुल्मीको वामीटक्सार बजार झिनियामय बनेको छ । तिहारमा बढी उपभोग हुने रोटीका परिकारहरु मध्येको एक हो झिनियाँ रोटी । पश्चिम क्षेत्रमा तिहारको बेला पाहुरका रुपमा लैजाने प्रचलन समेत रहेकाले यतिबेला यसको कारोबार ह्वात्तै बढेको छ ।

गुल्मी पाल्पाका बिभिन्न ठाउँमा यसको व्यवसायिक रुपमा नै तिहारका बेला झिनियाँ रोटी बनाउने गरिन्छ । हुन त मुसिकोट नगरपालिका ७ को वामीटक्सार बजारमा बाह्रै महिना झिनिया रोटीको व्यापार हुने गर्दछ । अरु बेला सामान्य व्यापार भएपनि तिहारको समयमा उच्च हुने झिनिया व्यवसायी मेघप्रसाद श्रेष्ठले बताए ।

वामीटक्सार बजारमा उत्पादन हुने झिनिया रोटी स्थानीय गाँउघर र छिमेकी जिल्लाका बजारमा खपत उनले बताए । । झिनिया रोटी, तिहार पर्वमा मात्र नभएर विवाह भोज भतेर र अघिपछि विभिन्न पारिवारिक उत्सवमा पनि निकै प्रयोग हने गरेको स्थानीय समाजसेवी विरन शाक्यको भनाई छ ।

यतिबेला वामीटक्सार बजारका प्राय सबै व्यापारीहरुका पसल तथा घरका छत र छानाहरु झिनिया रोटीले भरिएको छ । झिनिया रोटीमा रातो, निलो, पहेंलो, हरियो थरी थरीका रङ प्रयोग गरी थप आकर्षक पारिन्छ । पछिल्ला बर्षहरुमा तिहार पर्वमा मात्र नभएर बाह्रै महिनामा झिनियाको राम्रो कारोवार हुन थालेपछि झिनिया तर्फ आर्कषित हुन थालेको स्थानीय बागमती श्रेष्ठले बताए ।

सानो लगानी र घरमा फुर्सदको समयमा पनि झिनिया रोटी बनाएर विक्रि वितरण गर्न सकिने भएकाले गृहणीहरुको लागि गतिलो आयस्रोत समेत बन्न थालेको छ । झिनिया रोटीको बजारले ब्यापकता पाउँदै गएकोले यसको गुणस्तरमा पनि ध्यान दिन सके ग्रामीण महिलाको आर्थिक सवलीकरण गर्न सकिने उनीहरुको भनाई छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...