दाङमा ठूलो आवाजको डिजे प्रयोग गरेर देउसी भैलो खेल्ने गरिएको छ। चर्को आवाजसहितको डिजेका कारण स्थानीयलाई समस्या भएको छ। देउसी भैलो टोल बस्तीमा जाँदा चर्को आवाजसहितका डिजेले आतंकित बनाएका छन्।
जबरजस्त आवाजका कारण गाउँले पीडित भएका छन् । एउटा भैलो टोली गइनसक्दै अर्को भैलो टोली झन् चर्को आवाजमा गीत बजाउँदै गाउँ पस्ने गरेका तुलसीपुरकी इन्दा भण्डारीले बताइन्।
परम्परागत संस्कृतिको संरक्षण भन्दा बिकृत्ति बढ्दै गएकाले आफूहरुका लागि टाउको दुखाइ भएको उनले बताइन्। यो त अति नै भयो, बजाउन नाँच्न त सकिन्छ तर अरुलाई असर गर्ने गरी देउसी भैलामा बाजा बजाउन त भएन नु, तुलसीपुरका अर्का स्थानीय नवराज घिमिरेले भने।
राति सुतेका बच्चाबच्ची पनि चर्को आवाजका कारण तर्सिने गरेको स्थानीयको गुनासो छ। देउसी भैले टोली टोल समुदायमा नआएको मौकामा टेलिभिजन हेर्ने र मोबाइलमा कुरा गर्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । तुलसीपुर उपमहानगरपालिका(५ लाई ध्वनी निषेधित घोषणा गरिएको छ । सवारीसाधनले हर्न बजाए जरिवाना तिर्नुपर्ने हुन्छ । तर ठूलो ठूलो चर्को स्वरमा बजाइने साउण्ड सिस्टमको आतंकलाई नगरपालिकाले नियन्त्रण गर्न सकेको छैन ।
वडा नम्वर ५ का वडा सदस्य सुरेश श्रेष्ठले तिहारको अवसरमा रमाइलो गर्न देउसी भैलो खेल्ने समूहले यो बिषयलाई गम्भीर रुपमा लिनुपर्ने बताए । चर्को आवाजमा साउण्ड सिस्टम नबझाउन प्रहरीलेसमेत भनेको छ, तर आग्रहलाई भने बेवास्ता गरिएको छु, उनले भने।
आधुनिकका नाममा खेलिने यस प्रकारका देउसी भैलोको ध्वनीको असर बजार क्षेत्रस्थित अस्पतालका बिरामीलाई पनि परेको छ । स्थानीय रेडियो र टेलिभिजनलाई समेत असर परेको गुनासो आएको प्रहरीले जनाएको छ ।