बम काण्डमा आलम दोषी रहेको प्रहरीको निष्कर्ष 

 वाणगंगा अनलाईन कात्तिक १५, 

प्रहरीले कांग्रेसका केन्द्रीय सदस्य तथा निलम्बित सांसद मोहम्मद आफ्ताब आलम राजपुर बम काण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन शुक्रबार सरकारी वकिलको कार्यालयलाई बुझाउने भएको छ ।

आलमबारेको अनुसन्धान सकिएको र कुन–कुन कसुरमा मुद्दा चलाउने भन्नेबारे अन्तिम चरणको छलफल भइरहेकाले शुक्रबार नै फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको रौतहटका प्रहरी उपरीक्षक (एसपी) भूपेन्द्र खत्रीले उज्यालोलाई जानकारी दिनुभयो ।

विसं २०६४ सालमा संविधानसभाको चुनावका बेला रौतहटको राजपुरमा बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका आलम घटनामा दोषी रहेको निष्कर्ष प्रहरीले निकालेको छ ।

आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला मृतकका परिवार, प्रत्यक्षदर्शी, गाउँले, त्यसबेलाका स्थानीय र केन्द्रीय प्रहरी अधिकारीहरु, तथा घटनामा परेर बाँच्न सफल भएका ब्यक्ति समेतको बयानका आधारमा राजपुरमा त्यसबेला विष्फोट भएकै थियो भन्ने पुष्टि हुने प्रहरीले जनाएको छ ।

आलमले आफ्नो दोष लुकाउन मात्रै घटना नै नभएको जिकिर गरिरहेको निष्कर्ष प्रहरीले निकालेको स्रोतको दाबी छ । फाइल शुक्रबार नै सरकारी वकिलको कार्यालयमा बुझाइए पनि आलममाथि शनिबार र आइतबार छठका लागि प्रदेश सरकारले बिदा दिएकाले सोमबार मात्र मुद्दा दायर हुने सम्भावना छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...