प्रधानमन्त्रीका एडिसीसहित जुवाखालबाट आठजना पक्राउ

वाणगंगा अनलाईन  कात्तिक १६

एक लाख ५९ हजार तीन सय रुपैयाँ सहित म्यारिज खेलिरहेको अवस्थामा आठजना पक्राउ

प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा छन् ।

उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखी कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले बताए । उनीहरू म्यारिज खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीको सुरक्षामा लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को नेतृत्वमा सैनिक टोली खटिएको हुन्छ । मेजर शाही शुक्रबार बिदामा थिए । बिदाको वेला उनी सधैँजसो जुवा खेल्ने गरेको अनुसन्धानमा खुलेको छ ।

शाहीलाई सैनिक प्रहरीलाई बुझाउने प्रहरी तयारी छ । कर्तव्य ज्यान, लागुऔषधलगायत केही गम्भीर किसिमका अपराधबाहेक अन्य अपराधमा संलग्न सैनिकलाई सेनाले नै आन्तरिक कारबाही तथा कैद सजाय गर्ने कानुनी व्यवस्था छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...