सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । सोमबार दुईजनाको शव फेलापरेसँगै मृतकको संख्या १९ पुगेको हो ।
सोमबार सुनकोसी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एकजना र अर्का एकजनाको शव घटनास्थलबाट केही तलमात्रै भेटिएको प्रहरीले जनाएको छ ।
सोमबार शव भेटिएका दुईजनाको परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । आइतबार मृत्यु हुनेमा एक पुरुष, सात महिला, ६ बालक र तीन बालिका रहेका थिए । आइतबार मृत्यु भएका १७ जनाकै सनाखत भइसकेको छ ।
दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । तीमध्ये तीनजनाको धुलिखेल अस्पतालमा र दुईजनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अरु घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको छ ।
आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रीवाहक बस सुनकोसी नदीमा खसेको थियो । बसमा ६५ भन्दा बढी यात्री सवार रहेको अनुमान गरिएको छ ।
बस सडकबाट करिब १०० मिटर तल सुनकोसीमा खसेर दुर्घटना भएको थियो ।