प्रदेश ५ को राजधानी दाङ नै हुने अध्यक्ष प्रचण्डको भनाई

वाणगंगा अनलाईन कार्तिक २०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानी दाङ नै हुने बताउनुभएको छ ।

प्रेस संगठन दाङले बुधबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकोे छ । यही कुरालाई मध्यनजर गर्दै प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने ठहर गर्दै दाङलाई नै प्रदेश ५ को राजधानी बनाउने तयारीमा छौं ।’

मुलुकका हरेक आन्दोलनमा दाङले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्ने मेरो विश्वास छ ।’
मुलुकका तीन वटै सरकारले विकास र समृद्धिको यात्रालाई अगाडि बढाइरहेको भन्दै अध्यक्ष प्रचण्डले प्रदेशको राजधानी टुंगो लागिसकेपछि विकास प्रक्रियाले अझ बढी गति लिने बताउनुभयो । ‘दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा पनि महत्वपूर्ण भएर आउँछ भन्ने विश्वास छ र हाम्रो तर्फबाट त्यो कोसिस भई नै राखेको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सरकारका कार्यक्रम गाउँगाउँसम्म लैजानतर्फ सबै लाग्नुपर्दछ ।’
दाङलाई नै प्रदेश ५ को केन्द्र बनाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेको उहाँको भनाइ छ । दाङ पुग्दा आफूलाई न्यायो अनुभूति हुने गरेको भन्दै अध्यक्ष प्रचण्डले विकासमा दाङले फड्को मारेकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।

उपनिर्वाचनतिर सरकारको ध्यान गएको भन्दै अध्यक्ष प्रचण्डले चुनाव सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ‘उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो , सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’

प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिलाई लिएर अनेक क्रिया–प्रतिक्रिया उब्जिरहेका बेला अध्यक्ष प्रचण्डले यसलाई स्वभाविक प्रक्रिया भएको टिप्पणी गर्नुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...