आगामि मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि कपिलवस्तु जिल्लामा रहेका राजनैतिक दलहरुले आफ्ना उमेद्धारहरुको घोषणा सँगै चुनावी प्रचार प्रसारलाई पनि सुरु गरेका छन् । विभिन्न कारणले रिक्त भएका स्थानहरुमा उपनिर्वाचनको घोषणा र त्यसको तयारी भईरहेका बेला कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० मा अध्यक्ष पदका लागी उपनिर्वाचन हुने भए सँगै तत्कालिन नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपाल बिच एकता भई बनेको समाजवादी पार्टी नेपालले आफ्नो उमेद्धारको घोषणा सँगै चुनावी सरगर्मीलाई पनि बढाएको छ ।
समाजवादी पार्टी कपिलवस्तुले शिवराज नगरपालिका वडा नम्बर १० को अध्यक्षको रुपमा तिर्थ बहादुर रायमाझीलाई उमेद्धार बनाएको छ । मंसिर १४ गतेको उपनिर्वाचनमा समाजवादी पार्टी नेपालले सबै तयारी सहित सक्रिय सहभागि हुने निर्णय गरेको समाजवादी पार्टी शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीले बताउनुभयो ।
निर्वाचनलाई एउटा अवसरको रुपमा सदुपयोग गर्ने भन्दै यसैको माध्यमबाट क्रान्ति, सामाजिक रुपान्तरण, राष्ट्रिय एकता र विकास तथा संवृद्धितिरको यात्रामा अग्रसर हुने अवसर प्राप्त हुन सकिने पनि उहाँको भनाई छ । देशव्यापि रुपमा आम निराशा छाईरहेको भन्दै सार्वभौम मतदाताहरुले आफ्नो विवेकको समुचित उपयोग गर्न पनि समाजवादी पार्टीका नेताहरुले मतदाताहरुलाई आग्रह गरेका छन् ।
उता नेपाली कागं्रेसले पनि उमेद्धारको टुङ्गो लगाएको छ भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि उमेद्धारको घोषणा गरको छ । नेपाली कागं्रेसले वडा अध्यक्ष पदका लागि देवराज भारतिलाई टिकट दिएको छ भने नेकपाले अदालत मनिहारलाई उमेद्धारको रुपमा उभ्याएको छ ।