सरकारले भन्यो भारतको नयाँ नक्सा नेपाललाई मान्य हुँदैन

वाणगंगा अनालाईन काठमाडौं, कात्तिक २०

नेपाल सरकारले भारतले गएको शनिबार प्रकाशित गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालमा भइरहेको चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पस्ट छ’–बुधबार परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरुको समाधानका लागि प्राविधिकहरुको सल्लाहमा दुवै देशका परराष्ट्रसचिवहरुले काम गर्नेगरी जिम्मेवारी दिइएको’ विज्ञप्तिमा उल्लेख छ ।

‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पस्ट छ’–विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयले ‘सरकार नेपालको अन्तर्राष्ट्रिय सीमाना रक्षाका लागि प्रतिबद्ध रहेको र दुई राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य–प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको’ जनाएको छ ।
भारतले आफ्नो नयाँ नक्सामा नेपालको भू–भागलाई समावेश गरेको भन्दै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् ।

जम्मु–कश्मिर र लद्दाख औपचारिकरुपमा केन्द्रशासित प्रदेश बनेपछि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले गएको शनिबार जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकसमेत राखिएपछि चर्को विरोध भइरहेको हो ।सत्तारुढ दलका विद्यार्थी संगठन, बौद्धिक वर्गदेखि प्रतिपक्ष दल एवं भ्रातृसंगठनहरुले विरोध प्रदर्शन गरेका हुन् । सामाजिक सन्जालहरुमा पनि चर्को विरोध भइरहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...