नक्सा विवाद : वालुवाटारमा सर्वदलिय बैठक जारी ।। भारतीय राजदूतलाई बोलाएर स्पष्टकीरण सोध्न सुझाव

वाणगंगा अनलाईन कात्तिक २३ काठ्माडौँ

प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा दलहरुले भारतीय राजदूतलाई बोलाएर स्पष्टकीरण सोध्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुुझाव दिएका छन्। भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको करिब ३७ हजार हेक्टर नेपाली भूमिलाई गत आइतवार जारी गरिएको नयाँ राजनीतिक नक्सामा राखेपछि आक्रोश बढेका बेला दलहरुले यस्तो सुझाव दिएका हुन्। ‘भारतले नेपालको ठूलो भूमि सहितको नक्सा जारी गरेपछिको अवस्थामा बसेको सर्वदलीय बैठकमा सबै दलका नेताहरुले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न सुझाव दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका नेता डा. प्रकाशचन्द्र लोहनीले भने, ‘नेपाली भूमि राखेर जारी गरिएको नक्साको बारेमा सरकारले भारतीय राजदूत बोलाएर स्पष्टीकरण लिनुपर्ने विषयमा सबै दलहरू एकै ठाउँ र एकमत हुनुहुन्छ।’ नेपालले आफ्नो जमिन धेरैथोरै नभनी जोगाउनुपर्ने सुझाव दिइएको उनले बताए । प्रधानमन्त्रीलाई दलहरुले दिएको सुझावबारे पत्रकारलाई जानकारी गराउँदै उनले भने, ‘कालापानीमा पहिल्यै भारतीय सेनाको टुकडी बसेको हो।
त्यस्तै समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग नेपालकै हो भन्न प्रशस्त तथ्य रहेको बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा आफ्नो धारणा राखेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले यसो भनेका हुन्। ‘लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग भारतले आफ्नो नक्सामा राखेकोबारेमा मैले समाजवादी पार्टीको तर्फबाट आफ्ना कुरा राखेको छु’, उनले भने, ‘यो विषयलाई हल गर्ने गतिलो अवसर यही हो भन्ने मेरो धारणा हो। विगतमा व्यवस्था परिवर्तनमा दलहरु सक्रिय हुनुपरेकाले अहिलेको एकै व्यवस्थाका बेला भारतसँगको सीमा विवाद सरकारले हल गर्न हिम्मत गर्नुपर्ने सुझाव दिएको छु।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले राष्ट्रियता जस्तो संवेदनशील मुद्दमा दलहरु एक ठाउँमा हुनुपर्ने कुरा आफूले राखेको सुनाए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा नेपाली भूमि कालापानीमा राखिएका भारतीय सैनिक फिर्ता गर्नुपर्ने अडान दलहरुले प्रस्तुत गरेका छन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेकोबारेमा कुनै विवाद नरहेको जनाउँदै दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालतर्फ अतिक्रमण गरेर बसेका भारतीय सैनिक फिर्ताका लागि कूटनीतिक पहल थाल्न सुझाएका छन्। बैठकमा आफ्ना कुरा राखेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले नेपाली भूमि मिचेको मुद्दामा दलहरु एकैठाउँ रहेको बताए । ‘लिपुलेक, कालापानी र लिम्पियाधुराबारे सबै दल एकमत छन्। यो संवेदनशील विषयमा प्रम केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाउनु भएको रहेछ’, उनले भने, ‘बैठकका प्रायः सबै वक्ताहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपालको भूभागबारे कुनै विवाद द्विविधा नरहेको मत राख्नुभयो। आफ्नो भूभागको सुरक्षा र संरक्षणमा नेपाल प्रतिवद्ध रहने कुरामा सबै सहमत छौँ।’ अध्यक्ष थापाले भारत सरकारले आफ्नो नक्सामा नेपालको भूभाग पारेकोमा सबैले विरोध गरेको पनि जानकारी दिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...