अस्तव्यस्त छ शुद्धोधन जन जीवन

राजेन्द्र खनाल कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित शुद्धोदन जन जीवन मा.विमा प्रधानाध्यापकले प्रअको पदबाट राजिनामा दिएको झण्डै २ महिना पुरा भयो तर राजिनामा स्विकृतिका विषयमा कुनै ठोस कदम भने चालिएको छैन ।

अशोज महिनाको पहिलो सातामै राजिनामा दिएका प्रधानाध्यापक टेकलाल अधिकारीले विद्यालयमा शिक्षकहरुबाटै आफूलाई असहयोग महशुस भएको र सहज कामकार्वाही गर्नमा आफूलाई अवरोध सिर्जना  गरेका कारण आफूले  काम गर्न नसक्ने ठानी राजिनामा दिएको बताएका छन् । उनले  आफूले दिएको राजिनामा पत्रमा पनि सो कुरा उल्लेख गरेका छन् । प्रशासनिक कार्य सम्पादनमा आन्तरिक द्धोन्द्ध निम्तने खतरा बढेपछि  अधिकारी यतिबेला प्रअको पदबाट राजिनामा दिएर कार्यवाहक प्रधानाध्यापकको रुपमा कार्यरत छन् । उनले आफूले विद्यालय चलाउन नसक्ने  जनाउँदै अपूर्ण रहेको विद्यालय व्यवस्थापन समिति र वडा अध्यक्ष समते रहेका व्यवस्थापन समितिका पदेन सदस्य धु्व्र वेल्वासे समक्ष राजिनामा बुझाएका थिए । वडा अध्यक्ष बेल्वासेकै  अध्यक्षतामा बसेको बैठकले उनको राजिनामा दर्ता गर्ने निर्णय गरेता पनि हाल सम्म पनि सो राजिनामा पत्र दर्ता नभएको विद्यालयका शिक्षक एकनारायण पौडेलले बताए । राजिनामा तत्काल स्विकृत नगर्ने निर्णय भएको तर दशैँ पछि पुनः वैठक बसि स्विकृत गर्ने निर्णय भएता पनि हाल सम्म पनि विद्यालयमा समितिको बैठक बस्न सकिरहेको छैन । जसका कारण प्रअबाट राजिनामा दिएका अधिकारीले नै कार्यवाहक प्रअको काम गरिरहेका छन् र उनी आफुले राजिनामा दिएको विषय सवत्र उठाउँदै पनि आएका छन् । राजिनामा दिएका प्रअ बाट कति प्रभावकारी काम भईरहेको छ चासोको विषय बनेको छ ।

के भन्छन् जानकारहरु ?

वडा नम्बर ९ को एक मात्र माध्यमित तहको सामुदायिक विद्यालयको रुपमा रहेर पनि विभिन्न कारणले  बेलाबेलामा विवादमा आईरहेको शुद्धोधन मावि जिनुवा पछिल्लो समय प्रअ बिनाकै  विद्यालयको रुपमा संचानमा आएको स्थानियले बताए । सो विद्यालय स्थापनाका लागि आफूहरुले योगदान गरेको भन्दै विद्यालय प्रशासन र विद्यार्थीको जीवन माथि खेलवाड भईरहेको उनीहरुको भनाई छ । विद्यालय संचालन गर्न नसक्ने व्यक्ति प्रधानाध्यापक बन्ने र सकिन भन्दै राजिनामा दिनु आफैमा लज्जास्पद भएको स्थानिय समाजसेवी दिपक कुमार थापाले बताएका छन् । त्यस्तै उनले प्रधानाध्यापकले राजिनामा दिएको यति समय भई सक्दा पनि राजिनामा स्विकृत नगर्नु गलत भएको बताए । उता वडा अध्यक्ष वेल्वासेले राजिनामा आएको तर प्रधानाध्यापकले आधिकारिक भन्दा पनि बाहिर धेरैखाले कुरा गर्दै आएको हुँदा जतिसक्दो चाँडै नै यो विषयलाई टुङ्गोमा पु¥याउने बताए । यसको प्रत्यक्ष असर अहिले विद्यार्थीमा परिरहेको छ । त्यस्तै विद्यालयको मुख्य द्धार  क्षेत्रमै रहेका स्थानियले विद्यालयको हरेक गतिविधिहरु आफूहरुले दैनिक देखिरहेको भन्दै विद्यालयको अवस्था अत्यन्तै कमजोर अवस्थामा रहेको बताए । उनीहरुले वडा नम्बर ९ का अगुवा भन्नेहरुनै कमजोर भएको पनि सुनाए ।

प्रशासनिक कार्य नै अस्तव्यस्त

त्यस्तै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा विद्यालयको प्रशासनिक कार्य चुस्त दुरुस्त नहँुदा विद्यार्थीको भविष्यमाथि नै मनपरि हुने गरको छ । प्रशानिक कार्य सहज सम्पादन नहुँदा अहिले कक्षा ११ को मौका परीक्षा दिने १६ जना विद्यार्थीहरुको परीक्षा फारम नै छुटेको स्वयम विद्यार्थीले बताए । कत्तिक १८ गते सम्मको समय सिमा रहेता पनि विद्यालयकै लापरर्वाहीले हाल आफूहरु परीक्षा दिनबाटै बञ्चित हुनुपर्ने स्थिति सिर्जना भएको उनीहरुको भनाई छ । जिपिए थप गर्न परीक्षाको तयारी गरिरहेका विद्यार्थी अनिल पाण्डेले विद्यार्थीहरुले प्रशासनमा दवाद दिए पछि विद्यालयले फारम बुझाउने पहल गरेको सुनाए । उनी जस्तै अन्य १६ जना विद्यार्थी अहिले परीक्षा दिन पाउने वा नपाउने दोधारको स्थितिमा रहेका छन् । शिक्षकहरुकै खिचातानिले कैयौँ विद्यार्थीहरु विभिन्न कारणले मर्कामा परिरहेको जानकारहरु बताउँछन् । हाल सो विद्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत निगरानीमा राखिराहेको बताइएको छ । अख्तियारमा समेत मुद्दा परेको एक शिक्षकले बताए । विद्यालयको भवन निर्माणमा गरेको लापर्वाहि सँगैका अन्य प्रशासनिक  आर्थिक पारदर्शिता नदेखिदा अहिले विद्यालयमा अख्तियारले समेत निगरानी बढाएको छ ।

२ वर्ष देखि व्यावस्थापन समिति विहिन छ विद्यालय

झण्डै पछिल्लो दुई वर्ष यता शुद्धोधन जनजिवन मावि जिनुवामा विद्यालय व्यवसथापन समिति गठन हुन सकेको छैन । समिति गठनका लागि पटक पटक अभिभावक भेला तथा विभिन्न बैठक बोलाईएता पनि समितिले पुर्णता पाउन भने  अझै सकिरको छैन । जसका कारण विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको भुमिका वडा अध्यक्ष धुव्र वेल्वासेले गरिरहेका छन् । समितिका अन्य सदस्यहरुको टुङ्गो लागेता पनि समितिको मुख्य पदमै विवाद बढेपछि पछिल्लो ६ महिना यता समितिको पूर्णताका लागि पनि कुनै पहल हुन सकिरहेको छैन । पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य रहेका स्थानिय कृष्ण प्रसाद वेल्वासेले व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको चौतर्फि विकासमा असर परेको र यसको प्रत्यक्ष मार विद्यार्थीमा परेको बताएका छन । उनले पुरानो समिति विगठन भए पछि आफूले विद्यालयको बारेमा खास जानकारी नलिएको पनि सुनाए । हाल विद्यालयका महत्वपूर्ण विषयहरु वडा अध्यक्ष वेल्वासेकै अध्यक्षतामा बैठकबाट निर्णय हुने गर्दछन् । तर प्रअको राजिनामाको विषयमा भने अझै ठोस पहल गर्न वडा अध्यक्ष धुव्र वेल्वासे पनि असफल भएका छन् । विद्यालय व्यवस्थापन समितिको पूर्णता दिनका लागि स्थानिय भुवनेश्वर पौडेल र विन्द्रबहादुर गुरुङलाई सहमति मिलाउन भनिएता पनि सो विषयमा खाल पहल अहिले सम्म हुन सकेको छैन । व्यवस्थापन समितिको अध्यक्ष पदका लागि दावेदारी गरेका भुवनेश्वर पौडेल र विन्द्रबहादुर गुरुङ बिच सामान्य कुराकानी भए पनि खास पहल भने नभएको बताइएको छ । विद्यालयका अभिभावक समेत रहेका पौडेलले पछिल्लो समय विद्यालयको अवस्था अत्यन्तै धरासायी बनेको पनि बताएका छन् । अब यसको पहल वडाले लिनुपर्ने पनि उनको भनाई छ ।

स्थानिय शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समितिको गठन नहुँदा सम्म सम्बन्धित वडाको वडा अध्यक्षले व्यवसथापन समितिको अधयक्षको भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको देखाउँदै हाल वडा अध्यक्ष वेल्वासेले सोको जिम्मेवारी लिएका छन् । तर व्यवस्थापन समितिको पूर्णताका लागि भने कुनै पहल चाल्न उनले पनि सकिरहेका छैनन् । राजनितिक भागवण्डा नमिल्दा विद्यालयले व्यवस्थापन समितिको टुङ्गो लगाउन नसकेको स्थानियले  आरोप लगाएका छन् ।

समाधान कसरी ?

शुद्धोधन जन जीवन माविमा देखिएको विषयबारे वाणगंगा नगरपाकिलाका शिक्षा शाखा अधिकृत खिमबहादुर जिसीले विद्यालयको सम्पूर्ण गतिविधिका विषयमा आफूहरु पूर्ण जानकार रहेको भन्दै समस्याको सम्पूर्ण समाधान विद्यालय आफैले गर्नुपर्ने बताएका छन् । उनले विद्यालयका पूर्व प्रधानाध्यापक अफाक अहमद खाँ ले छोडेको आर्थिक कारोवार लेखा परिक्षण हालका प्रधानाध्यापक टेकलाल अधिकारीबाट पनि हुन नसकेको भन्दै सबैभन्दा पहिला विद्यालयको अर्थिक पारदर्शिता आवस्यक रहेको बताए । हाल प्रधानाध्यापकले प्रअबाट राजिनामा दिएको भनेता पनि उनले सबैभन्दा पहिला विद्यालयको आर्थिक कारोवार चुस्त बनाउनुपर्ने र राजिनामा दिनुपर्ने बताए । त्यस्तै जिसीले व्यवस्थापन समितिको गठनका विषयमा नगरपाकिलाको शिक्षा नियमावलीमा आधारित रहेर हाल समिति पूर्ण नहँदा सम्मका लागि वडा अध्यक्ष नै पदेन सदस्यको रुपमा रहि काम गरेको भन्दै समितिको सदस्य पदमा चयन भएका अन्य सदस्यहरुको बहुमतले अध्यक्ष चयन गर्न सकिने बताएका छन् । यसको मुख्य पहल वडा अध्यक्षले लिनुपर्ने उनको सुझाव छ । उनले विद्यालयका प्रशानिक पक्षहरुको आन्तरिक द्धोन्द्धका कारण विद्यार्थीको भविष्यमाथि खेलवाड हुन नहुने पनि बताएका छन् ।( लुदस बाट )

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...