Archives


बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको  शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न

कात्तिक २६,

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो ।

रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख कृष्णप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार, सिक्टाको सबै काम यही आर्थिक वर्ष २०७६÷७७ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वीनहरबाट बाँकेका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ ।

बाँकेमा ३५ हजार ९७० हेक्टरमा धानखेती हुन्छ । त्यसमध्ये करीब १३ हजार ७०० अर्थात् करीब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नहुँदा किसान वर्षेनी आकाशेपानीको भरमा धानखेती गर्न बाध्य छन् ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पटक–पटक स्थलगत अनुगमन गरेर समयमै काम सक्न निर्देशन दिने गरे पनि सरकारले दिएको प्राथमिकताअनुसार प्रतिफल भने देखिएको छैन ।

आयोजना कार्यालय अहिलेसम्म मूल नहर निर्माणको काममै अल्झिरहेको छ । आयोजनाका शाखा र उपशाखा नहर निर्माणको काम पनि सुस्त छ । तीन वर्षअघि अगैयास्थित मुख्य बाँधमा जडान गरिएको १८ वटा गेट सिँचाइका लागि उपयोगमा आउन सकेका छैनन् ।

सिक्टाको पश्चिम मूल नहर निर्माणको काम सम्पन्न भए पनि हस्तान्तरण नहुँदै परीक्षण गर्ने क्रममा पटक–पटक भत्किने गरेको छ । विसं २०७३ असार १४ गते पनि परीक्षणकै क्रममा ढकेरीस्थित झिझरीखोला छेउमा मूल नहर भत्किएको थियो । पटक–पटक नहर भत्किँदा सिक्टाको गुणस्तरमाथि प्रश्न उठेको छ ।

सिक्टा सिँचाइको काम समयमै नहुँदा किसान मर्कामा परेका मूल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए ।  गत हप्तामात्रै स्थलगत अनुगमनका क्रममा मन्त्री पुनले एक वर्षभित्र सिक्टा सिँचाइ आयोजनाको नहरको काम सक्न निर्देशन दिएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराजले जानकारी दिए ।

उनका अनुसार, राप्ती सोनारी गाउँपालिकाको अगैयास्थित आयोजनाको हेडवक्सस्थल पुगेर मन्त्री पुनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई महिनाको एकपटक अनिवार्य सिक्टाको स्थलगत निरीक्षण गर्न र जलस्रोत तथा सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठलाई हरेक महिनामा एक दिन सिक्टा सिँचाइ आयोजनाको प्रगतिबारे मन्त्रालयमा समीक्षा गर्न निर्देशन दिएका थिए

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...