अबैध हतियारसहित पक्राउ परेका तरुणदलका नेपालगन्ज नगर सभापतिको रिहाइको माग गर्दै नेपाल तरुणदल बाँकेका बन्दका कारण शुक्रबार बिहानैदेखि नेपालगन्जको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण सार्वजनिक यातायात चलेका छैनन् भने विद्यालय पनि बन्द रहेको छ । बन्दका कारण कलकारखाना तथा व्यापार व्यावसाय समेत प्रभावित भएका छन् ।
बाँके प्रहरीद्वारा अबैध हतियारसहित तरुणदलका नेपालगन्ज नगर सभापति संदिपजंग शाहलाई गत कात्तिक १४ गते साँझ नेपालगञ्ज–२० मा रहेको नमस्ते भिलेज रेस्टुरेन्टबाट अबैध अमेरिकन लोडेड पेस्तोल र त्यसको २ थान गोलीसहित पक्राउ गरेको थियो ।
नेता शाहीको रिहाईको माग गर्दै आज विहानदेखि नेपालगन्जमा विरोध प्रदर्शन गरिएको छ । प्रहरी प्रशासनले सत्ताको आडमा आफ्ना कार्यकर्ताहरुलाई अनाहकमा दुख दिएको भन्दै बन्द आव्हान गरीएको छ ।
बन्द आव्हानकर्ताहरु शुक्रबार बिहानैदेखि नेपालगन्जको बीपिचोक र कोहलपुर चौराहमा झण्डासहित प्रदर्शन गर्नुको साथै आवागमन ठप्प पारेका छन् । तरुण दल बाँकेले प्रहरीले नगरसभापति शाहलगायत आफ्ना कार्यकर्तालाई अनाहकमा दुख दिएको भन्दै चरणबद्ध आन्दोलनमा छ ।
तरुण दलको झण्डासहित नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु शुक्रबार बिहानैदेखि नेपालगञ्जको सुर्खेतरोडका विभिन्न चोकहरुमा तैनाथ रहेका छन् । बन्दको पूर्व सन्ध्यामा तरुण दलले बिहीबार साँझ राँके जुलुससमेत निकालेको थियो ।