Archives


दृष्टिविहीन विद्यार्थीका लागि आवास निर्माण

मंसिर १, 

दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि विदेशबाट सहयोग प्राप्त भएको छ । छात्रावास जीर्ण हुँदा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनमा असहज हुने गरेको थियो ।

राप्ती समाज जापानको सहयोगमा सङ्कलन भएको रु ४१ हजार ४४० विद्यालयलाई हस्तान्तरण गरिएको हो । पूर्वविद्यार्थी तुलसीराम पोख्रेलको पहलमा तथा संस्थाका अध्यक्ष युवराज रेग्मीको सक्रितामा सहयोग सङ्कलन गरी उपलब्ध गराइएको हो । उक्त रकम पोख्रेलले विद्यालयका प्रधानाध्यापक किरण पोखरेल र दृष्टिविहीन आवास निर्माण समितिका संयोजक वासुदेव न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।

सरकारले विशेष शिक्षाअन्तर्गत दाङको उक्त विद्यालयमा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठन गराउन थाले पनि उचित पूर्वाधारतर्फ ध्यान नदिएको विद्यालयका प्रधानाध्यापक किरण पोखरेलले बताए । उनका अनुसार अहिले सुरक्षित भवन नहुँदा जीर्ण भवनमै विद्यार्थी राख्न बाध्य भएको उनको भनाइ छ ।

उनका अनुसार अहिले आठ केटी र पाँचजना केटा गरी १३ जना दृष्टिविहीन विद्यार्थीले अध्ययन गरिरहेका छन् । एउटा जीर्ण भवनमा उनीहरुलाई राखिएको छ । विसं २०५२ देखि पढाइ शुरु भएको दृष्टिविहीन कक्षामा अहिले दुईजना शिक्षक कार्यरत छन् ।

दृष्टिविहीन ती विद्यार्थीहरु शारीरिक हिसाबले कमजोर भएकाले उनीहरुको आवास सुरक्षित हुनुपर्ने माग पहिलेदेखि उठ्दै आएको हो । अहिले करीब ४० वर्ष पुरानो जीर्ण भवनमा ती विद्यार्थीलाई राखिएको छ । भित्र छिर्दा नै भत्किने डरले हत्तपत्त बाहिर निस्किनुपर्ने अवस्था छ तर दृष्टिविहीनलाई आफूहरू कस्तो भवनमा बसिरहेका छौँ भन्ने कुरा थाहा छैन ।

पलङ पनि जीर्र्ण अवस्थामा छन् । काम चलाउनमात्रै ती पलङ राखिएका छन् । विद्यार्थीहरु सुतिरहेको अवस्थामा कतिबेला ती भाँचिन्छन् भन्ने त्रास छ ।

यस्तो अवस्था देखेपछि सोही विद्यालयमा अध्ययन गरेर विभिन्न पेशा–व्यवसायमा लागेका पूर्व विद्यार्थीहरुको सक्रियतामा भवन निर्माणको शुरुआत भएको छ । गएको वर्षको दशैँको घटस्थापनाको साइत पारेर शिलान्यास गरिएको भवन निर्माणको काम जारी छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...