छोरीलाई बुवाले मृगौला दिदै ।। पारिजातद्धारा २० हजार सहयोग ।।

जितपुर, ७ पौष ।

कृषि पेशा गर्ने सामान्य परिवारमा जन्मेका झविलाल सिंजालीको परिवारमा ठूलो बज्रपात आइपर्यो । जतिबेला २१ वर्षिय कलकलाउँदो उमेरमा विवाहित छोरी रुपा सिंजालीका दुवै मृगौलाले काम गर्न छाडे, सिंजाली त्यो दिन झलझली सम्झिन्छन ।

एक छोरा एक छोरीको बुवा छोरी प्रति पनि आफ्नो उत्तिकै दायित्व भएकाले झनै भक्कानिए । आखिर मनलाई बलियो बनाई जसरी पनि छोरीको उपचार गर्ने र आफ्नै मृगौला दिने उनले सोच बनाए । भगवानले तँ आँट म पुर्याउँछु भने झै सिंजालीले चाहे अनुसार नै छोरीलाई मृगौला दिन मिल्ने चिकित्सककोे रिपोर्ट आयो । सिंजाली भन्नुहुन्छ, छोरा छोरीमा विवेद मैले कहिल्यै गरिन कलिलो उमेरमै कसैलाई पनि त्यस्तो रोग नलागोस् । सिंजाली अहिले छोरीको उपचारका लागि आर्थिक सहयोग जुटाउनमै व्यस्त हुनुहुन्छ । छोटो कुराकानीमा सिंजालीले भन्नुभयो, मृगौला प्रत्यारोपण गरी छोरीलाई जीवनदान दिनु मेरो दायित्व र कतव्र्य दुवै भएकोले सबैलाई सहयोगको लागि आग्रह गरेको छु ।
यसैबीच, कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ कप्टैयाकी रुपा सिंजालीका दुवै मृगौलाले काम गर्न छोडेपछि मृगौला प्रत्यारोपणका लागि सहयोग गर्न अपिल गरेकी छिन् । सिंर्जालीले आर्थिक समस्याले आफ्नो एकल लगानीमा प्रत्यारोपण गर्न नसक्ने हुँदा कपिलवस्तु जिल्लाका संघ, संस्था, क्लब, सरकारी, गैरसरकारी निकाय, नागरिक समाज, पत्रकार समाजसेवी सबैमा सहयोगको लागि अपिल गर्नुभयो । सिंजालीको अपिलसँगै पारिजात मावि बनगाईले आर्थिक सहयोग गरेको छ । पारिजात माविका स्कुलका प्राचार्य कृष्ण के.सी.ले विद्यार्थी र शिक्षकहरुबाट सहयोग संकलन गरी २० हजार १ सय ४० रुपैयाँ सहयोग गरेको बताउनुभयो । मृगौला प्रत्यारोपणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सिंजालीलाई आर्थिक सहयोग गरिएको के.सीको भनाई छ । सहयोग रकम सिंजालीका बुवा झविलाल सिंजालीलाई हस्तान्तरण गरिएको हो ।

आर्थिक अभावमा मृगौलाको उपचार गर्न समस्या भएपछि सिंजाली परिवारको आग्रहमा सहयोग गरिएको विद्यालयले जनाएको छ । सिंजाली परिवारका अनुशार मृगौला प्रत्यारोपणका लागि करिब १५ लाख रुपैयाँ आवश्यक पर्छ । बिगत १० महिनादेखि सिंजाली मृगौलाको उपचार गराउँदै आएकी छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...