आज खण्डग्रास सूर्यग्रहण ।। वाणगंगाका शिक्षण संस्थामा विदा

पुष १० कपिलवस्तु

आज बिहान खण्डग्रास सूर्यग्रहण लाग्दै छ। काठमाडौंमा बिहीबार बिहान ८ बजेर ४३ मिनेटमा, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटदेखि सूर्यग्रहण देख्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए। बिहान १० बजेर १ मिनेटमा मध्य हुने ग्रहण ११ बजेर ३१ मिनेट जाँदा समाप्त हुनेछ। आजको खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका, मलेशियालगायत एसियाका अधिकांश देश, हिन्द महासागर, पूर्वी युरोप, उत्तररपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रिका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिन्छ।

ग्रहण खुल्ला वा चस्मा लगाएर पनि हेर्न हुँदैन। ग्रहणको बेला सूर्यको प्रकाश सिधै आँखामा परेमा सधैँका लागि आँखाको ज्योति गुम्ने खतरा हुने छ ।

यसैबिच यता कपिलवस्तुको वाणगंगा नगरपालिका अन्तरगत नगर शिक्षा शाखाले आज विदा दिएको छ । नगरपालिका भित्रका विद्यालयहरुलाई विदा दिइएको हो । नगर भित्र रहेका सामुदायिक तथा निजी विद्यालय एक दिनका लागि बन्द हुने वाणगंगा शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीले जानकारी दिनुभयो । बाणगंगा नगर शिक्षा समितिको बैठक बसी आज सुर्य ग्रहणलाग्ने भएकोले नगरका सबै विद्यालय बन्द गर्ने निणर्य गरेको हो । हिजो साँझ आकस्मिक बसेको शिक्षा शाखाको बैठकले नगरपालिका भित्रका शिक्षण संस्थामा विदाको घोषणा गरेको जनाइएको छ ।
खण्डग्रास सुर्य ग्रहणमा दाङको तुलसीपुरका सम्पूर्ण क्याम्पस र विद्यालयहरुमा सार्वजनिक विदा दिइने भएको छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले ग्रहणको समयमा विद्यार्थीहरुको आँखा र स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै विद्यालयहरुमा सार्वजनिक विदा घोषणा गरेको हो ।
यता भोलि बिहीवार बिहान ८ बजे देखि सूर्य ग्रहण लाग्ने भएकाले बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका अन्तर्गतका सम्पुर्ण विद्यालय बन्द गर्न आव्हान गरेको छ ।नगरपालिकाका अधिकृत टीकाराम पन्थीले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पत्राचार गर्दै सूर्य ग्रहणमा बिदा गर्न निर्देशन दिएका छन् ।स्थानीय विदा बाट कटटि हुने गरी नगरपालिकाले सूर्य ग्रहणका बेला बिहीवार विद्यालयमा सार्वजनिक बिदा दिएको हो ।
यसैबिच उता बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ । सर्वसाधारण मानिसमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्न सहयोग गर्ने उद्देश्यले प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकनको व्यवस्था गरिएको समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए । यसपटकको सूर्यग्रहण नेपालबाट बिरल छायाँ र खण्डग्रासमात्र देखिने छ । पृथ्वीको केही भागको करिब १०० किलोमिटरको ब्याण्डबाट बलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ । चन्द्रमाको छायाँको व्यास सूर्यको भन्दा सानो भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि रिङजस्तो देखिने निमित्त कार्यकारी निर्देशक शर्माले जानकारी गराए । यस्तो अवस्थालाई ‘रिङ अफ फायर’ भनिन्छ । सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर अवलोकन गर्नु नहुने समितिको ठहर छ । यसरी हेरेमा आँखा सदाका लागि बिग्रने सम्भावना हुन्छ । एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिविम्बलाई अवलोकन गर्नुहुँदैन । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चश्माबाट मात्र ग्रहण अवलोकन गर्न सकिने कार्यकारी निर्देशक शर्माले सम्झाएका छन् । साधारण चश्माको प्रयोग गरेर समेत ग्रहण नहेर्न पनि उनले आह्वान गरे । सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त नभएको समितिले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने ग्रहणको मानिसमा प्रभाव शास्त्रीय विश्लेषणअनुसार चार प्रहर अर्थात् १२ घण्टा अघिदेखि नै सुतक लाग्ने जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...