तराईमा अझै केही दिन चिसो नघट्ने मौसमविद्को भनाइ

पुस ११, 

तराईमा अझै केही दिन चिसो नघट्ने मौसमविद्ले बताएका छन् ।केही दिनदेखि लागिरहेको हुस्सु शुक्रबार दिनैभरि हट्ने सम्भावना नरहेकाले चिसो नहट्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

गएको बुधबार र बिहीबार बिहान लागेको हुस्सु दिउँसो केहीबेर हटे पनि आज भने दिनभर नै हुस्सु लाग्ने उहाँले बताउनुभयो । पानी पार्ने वायुको प्रणाली नदेखिएसम्म तराई क्षेत्रमा कुहिरो हट्ने सम्भावना नभएको पनि उहाँले जानकारी दिनुभयो ।

काठमाण्डौसहित देशका पहाडी भेगमा बिहान लागेको कुहिरो दिउँसो बिस्तारै हट्ने भए पनि पूर्णरुपमा घाम लाग्ने सम्भावना भने छैन । शुक्रबार बिहान पौने ६ बजेको काठमाण्डौको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बिहीबार काठमाण्डौको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियससम्म झरेको थियो । यस्तै जुम्लाको माइनस ७ डिग्री, दोलखाको जिरीको माइनस ३ दशमलव ५, डडेलधुराको १ दशमलव ७ र दिपायलको ३ दशमलव ५ डिग्री सेल्सियसम्म मापन गरिएको छ ।

तर तराईका कतिपय क्षेत्रको अधिकतम र न्यूनतम तापक्रम भने थोरै मात्र घटबढ भएकाले जाडो धेरै महसुस भएको मौसमविद् पोख्रेलले बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...