भारतीय कम्पनीले १० वर्षसम्म नबनाएको राप्तीपारिको हुलाकी सडकमा कालोपत्रे निर्माणको काम तीव्र गतिमा हुदैँ

पुस १४ 

भारतीय जेभी कम्पनीले १० वर्षसम्म बनाउन नसकेको हुलाकी सडक तीव्र गतिमा निर्माण भइरहेको छ । नेपालगञ्जबाट राप्तीपारी बघौडासम्मको ४४ किलोमिटर सडक मध्ये ३० किलोमिटर कालोपत्रे भइसकेको छ । नेपालगञ्जको पुष्पलाल चोकदेखि फत्तेपुरको झगडियासम्मको २२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

निर्माण कम्पनीले दुई कलस्टरमा विभाजन गरेर सडक निर्माण गरिरहेको छ । पहिलो कलस्टर अन्तरगत ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको हुलाकी सडक कार्यालय, नेपालगन्जले जनाएको छ । कल्भर्टमा ग्याब्लिङ (जाली भर्ने) र सडकको वीच भागमा मार्किङ तथा ट्राफिक चिन्ह भएको साइन बोर्ड निर्माणको काममात्र बाँकी रहेको हुलाकी सडक कार्यालयका निमित्त प्रमुख इन्जिनियर रामसागर हरिजनले बताउनुभयो ।

जग्गा विवादका कारण पहिलो कलस्टरमा ६ सय मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । जग्गा विवाद समाधान भइसकेकोले गर्मी शुरु हुनासाथ बाँकी रहेको ठाउँमा कालोपत्रे र मार्किङको काम शुरु हुने हुलाकी सडक निर्माण गरिरहेको गणपति कन्स्ट्रक्शनका प्रमुख तुलसीराम भण्डारीले बताउनुभयो ।

दोस्रो कलस्टरअन्तर्गत २२–४४ किलोमिटरमा ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको छ । दोस्रो कलस्टरमा पर्ने २२ किलोमिटर सडक मध्ये आठ किलोमिटर कालोपत्रे भइसकेको बताउँदै भण्डारीले पाँच किलोमिटर कालोपत्रेका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

‘चिसोमा कालोपत्रे गर्न नमिल्ने भएकोले कालोपत्रेका लागि तयारी अवस्थामा छ’, भण्डारीले भन्नुभयो । उहाँले बाँकी ९ किलोमिटरमा कालोपत्रेका लागि बेस निर्माणको काम तीव्र गतीमा भइरहेको बताउनुभयो । कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेकोले फागुन मसान्तसम्म कालोपत्रेको काम सम्पन्न हुने उहाँको दावी छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...