Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

नेपालगञ्ज विमानस्थलको निर्माणकार्य तीव्र रुपमा संचालन

पुस २९

गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थलको निर्माणकार्य तीव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो ।

वि।सं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई विसं २०३० मा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगञ्ज विमानस्थलमा सेवा शुरू भएको हो ।

तराईको पुरानो र व्यवस्थित नेपालगञ्ज विमानस्थलले अन्तरराष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने भएको छ । त्यसका लागि अहिलेबाटै काम शुरु भइसकेको छ । यतिबेला विमानस्थलको रनवे विस्तारको काम धमाधम भइरहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगञ्ज आएर ठूला जेट विमान उडाउन मिल्ने गरी नेपालगञ्ज विमानस्थलको विकास र विस्तार गर्न निर्देशन दिइसक्नुभएको छ । नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको २० वर्षे गुरुयोजनामा यसको विकास र विस्तारका लागि सन् २०४० सम्म कुर्नुपर्नेछ । त्यत्ति बेलासम्म अहिलेको विमानस्थलको आकार झण्डै दोब्बर हुनेछ भने पूर्वाधार पनि त्यही अनुरुप थपिनेछन् ।

ठूला जेट विमान उड्नसक्ने महत्वकाँक्षी योजना छ । गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ । लक्ष्यमा पुग्न जग्गा अधिग्रहणबाहेक रु १२ अर्ब ५० करोडको लागत लाग्ने अनुमान रहेको विमानस्थल प्रमुख ठाकुरले बताउनुभयो।

उहाँले योजनाअनुसार काम भइरहेको बताउँदै विमानस्थललाई सुधारको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो। सन् २०२३ सम्म सम्पन्न हुने पहिलो चरणका लागि झण्डै दुई अर्बको बजेट छ ।

पहिलो र दोस्रो चरणको काम शुरु भइसकेको छ । सन् २०३० सम्म सम्पन्न गर्ने दोस्रोचरणका लागि सबैभन्दा बढी बजेट साढे रु ६ अर्बको बजेट छ ।

त्यसैगरी सन् २०३५ मा सम्पन्न हुने तेस्रो चरणमा सवा दुई अर्बको बजेट छ । चौथो चरणमा पौने दुई अर्बको लागतमा सम्पन्न गर्ने लक्ष्य छ । दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलमा झण्डै एक हजार १०० यात्रुलाई दैनिक सुविधा पुगेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजनाअनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्छ ।

हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुनेछ । यसका लागि डुडुवा नालालाई ३०० मिटर टाढा सार्ने योजना बनाइएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...