अत्यधिक लागुऔषध सेवनका कारण नवलपुरमा एक जनाको मृत्यु १ पक्राउँ ।।

शोभा जि.सी.

नवलपरासी, २७ पुस । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ प्रगतिनगर लोकाहा पुलदेखि दक्षिणतर्फ एक जना पुरुषको अत्यधिक लागु औषध सेवनका कारण मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ३ निवासी २६ बर्षीय सुमन घर्तीको अत्यधिक लागु औषध सेवनका कारण मृत्यु भएको हो । यद्दपि उनको शव पोष्टमार्टम पछि मात्र विस्तृत विवरण आउने प्रहरीले जनाएको छ ।
उनको शरिरमा लागुऔषध प्रयोगका लागि लगाइएको सुईका निसानहरु र उनको साथबाट केही मात्रामा लागुऔषध पनि बरामद भएको प्रहरीले जनाएको छ ।
लोकाहा पुलबाट केही पर दक्षिणतर्फ स्थानीयले एक जना पुरुष मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
शवको मुचुल्का उठाएर शवको पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाईने अस्थाई प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ ।
यसै बिच पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी विरेन्द्र थापाका अनुसार नवलपरासीको बर्दघाट नगरपालिका ३ लघुना स्थित भित्री सडक खण्डमा लु ९ पु ४५८७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ बस्ने ३५ बर्षका प्रमोदकुमार राय लागु औषध सहित पक्राउ परेका हुन् ।
उनको साथबाट प्रहरीले नोफिन १ सय ५० थान, डाइजोपाम एक सय ५० थान र फेनरागन १ सय ५० थान लागुऔषध बरामद गरेको जनाएको छ ।
यसै गरी पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिका ५ हाडबजारमा चेकजाँचको क्रममा रामग्राम ९ मधौलिया बस्ने २७ बर्षीय अजाद पाठकलाई पनि प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ ।
उनको साथबाट प्रहरीले फेनारागन ७० थान, नुफिन ७० थान, डाइजोपाम ७० थान, नाइट्रोभेट १ सय ३५ थान र इस्पास्मो १० थान लागु औषध बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...