नेपालमा कोरोना भाइरसको संक्रमण फेला पर्यो ।। चीनमा २६ जनाको मृत्यु ।। युरोपमा पनि पुगेको पुष्टि

अनलाईन वाणगंगा काठमाडौं, माघ ११ 

नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । करीब दुई साता अघि चीनको वुहान शहरबाट नेपाल आएका एक चिनियाँ नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जनाएको छ । वुुहानबाट करीब दुई साता अघि एक विद्यार्थी नेपाल आउनुभएको थियो ।

उहाँलाई आफैं संक्रमणको आशंका लागेपछि शुक्रराज ट्रपिकल अस्पताल पुग्नुभएको थियो । अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले भन्नुभयो, “चार दिनसम्म निगरानीमा राखेर रगतको नमूना लिएर उहाँलाई घर पठाएका थियौं, एक सातापछि नमूनाको प्रतिवेदन आउँदा उहाँमा संक्रमणको पुष्टि भएको हो ।”

यो भाइरसको संक्रमणमा परेका एक नेपालीलाई उपचार पछि डिस्चार्ज गरिएको छ । तर अरु थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको आशंका गरिएको छ । उनीहरुबारे केही जानकारी खुलाइएको छैन । एक जना बिरामीलाई भने ग्राण्डी हस्पिटलबाट टेकु अस्पतालमा रेफर गरिएको छ । यसरी संक्रमणको आशंका लागेका व्यक्तिलाई विमानस्थलबाट सोझै अस्पतालमा ल्याउन र उपचारका लागि छुट्टै ३ जना विशेषज्ञ डाक्टरको टोली खटिएको छ ।

कोरोना भाइरसको आशंका गरिएका विरामीलाई अस्पतालमा छुट्टै कक्षमा राखेर उपचार थालिएको टेकु अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको जनाएको छ । बिरामीको सम्पर्कमा आएको हुनसक्ने व्यक्तिहरुको खोजी, पहिचान र परीक्षणको कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । चीनले वुहान शहरमा आवातजावत र सार्वजनिक यातायात बन्द गरिसकेको छ । शुक्रबार भने हुवेइ प्रान्तको अधिकांश स्थलमा यात्रामा प्रतिबन्ध लगाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमण युरोपमा पनि पुगेको पुष्टि भएको छ । चीनमा तीब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमण फ्रान्सका तीन जनामा पनि देखिएको पुष्टी भएको बीबीसीले जनाएको छ ।

फ्रान्सको पेरिसमा दुई र बोर्डोउमा एक जनामा यो भारइस देखिएको त्यहाँका स्वास्थ्य मन्त्रीले पुष्टि गरेका हुने । यसैगरी, अमेरिकामा दोस्रो व्यक्तिमा पनि कोरोना भाइरस भएको पुष्टी भएको छ भने थाइल्याण्डमा ५, सिंगापुरमा तीन, भियतनाम र दक्षिण कोरियामा दुई दुई तथा ताइवान र नेपालमा एक एक जनामा कोरोना भाइरस भएको पुष्टी भएको छ ।

बेलायत र क्यानाडामा पनि संक्रमित भएको अनुमानमा परीक्षण भैरहेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा २६ जनाको मृत्यु भएको छ भने ८ सय ३० जना संक्रमित भएका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...