आज सभामुख निर्वाचन हुँदै, कांग्रेस र राजपालाई सभामुखको आश

माघ १२

प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक डाकिएको छ । सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ ।

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उहाँ निर्विरोध हुनुहुनेछ । सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ हुनुहुन्छ । यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीमा समर्थन गर्नुहुनेछ ।

नियमावली अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले उम्मेदवारी दिन सकेनन् ।

कांग्रेस र राजपालाई उपसभामुखको आश

सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी सुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाइसकेको छ । सभामुखको चयनको औपचारिक घोषणा आज बस्ने संसद् बैठकले गर्नेछ ।

उपसभामुख भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनतामा पार्टीले दावी गरेका छन् । नेकपाले उपसभामुख कांग्रेस र राजपा कसलाई दिने भन्ने निर्णय गरेको छैन ।

सभामुखमा पुनर्विचार गर्न आग्रह

नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा चासो देखाउँदै सरकारका पछिल्ला कदमप्रति अन्तर्राष्ट्रिय सरोकारवाला संस्थाले असन्तुष्टि जनाउँदै सभामुख चयनमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले विद्यमान ऐन संशोधन नगरी संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्ति तथा सभामुख चयन प्रक्रियामा असन्तुष्टि जनाएका छन्।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...