Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

राष्ट्रपतिको सीको भ्रमण लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने विश्वास

 

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल भ्रमणमा आउनु एक दिनअघि दिएको सन्देशमा नेपाल चिनियाँका लागि दक्षिण एशियाको प्रमुख गन्तव्य हुने उल्लेख गरेकाले पनि लुम्बिनीप्रति आकर्षण थपिएको हो ।

राष्ट्रपति सीले बुद्ध धर्मको प्रचारप्रसार, प्रवद्र्धनसँगै लुम्बिनीको विकासमा चिनियाँ भूमिकाका विषयमा दिएको सन्देशबाट पनि चिनियाँको नेपालमा अब प्रमुख गन्तव्य लुम्बिनी बन्नसक्ने बलियो सम्भावना देख्न सकिन्छ । राष्ट्रपति सीको नेपाल भ्रमण सिङ्गो मुलुकसँगै बुद्ध जन्मस्थल लुम्बिनीका लागि थप महत्वपूर्ण हुने देखिएको छ ।

यसको प्रमुख कारण करीब १६ सय वर्षअघि चिनियाँ महान् भिक्षु फाहियान र नेपाली महान् भिक्षु बुद्धभद्रले एकार्काको देशमा भ्रमण गरेर संयुक्तरूपमा बौद्ध धर्मका शास्त्रपद अनुवाद गरेको जनाउँदै बुद्ध धर्मको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति सीले सन्देशमा उल्लेख गरेका छन् । उनको यस्तो सन्देशले नेपाल र चीनबीचको हजारौँ वर्ष पुरानो सम्बन्धको महत्वलाई थप उजागर गरेको स्पष्ट देखिन्छ ।

यसका साथै राष्ट्रपति सीले महान् भिक्षु हुएन साङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको वर्णन आफ्नो यात्रावृत्तान्तमा लेखेको समेत उल्लेख गरेका छन् ।

उनले लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको र हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिले एकार्काको देश भ्रमण गरेको स्मरण गरेका छन् । राष्ट्रपति सीले भ्रमणअघि दिनुभएको सन्देशमा पहाड र नदीले जोडिएका युगौँदेखिका दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरेका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...