कोरोनाको कहर खेलमा पनि ।। नेपाल सहित विश्वका अधिकाशं खेलहरु स्थगित ।।

फाल्गुण २९ कपिलवस्तु

कोरोना भाइरसका कारण स्पेनिस ला लिगाअन्तर्गत दुई चरणका खेलहरु स्थगित भएका छन् । जारी सिजनमा आउँदो दुई साता ला लिगाका खेलहरु नहुने पक्का भएको हो । यदि दुई हप्तासम्म पनि अवस्था सामान्य नभए फेरि अरु खेल पनि स्थगित गरिने स्पेनिस ला लिगाले जनाएको छ । रियल मड्रिडका बास्केटबल खेलाडीमा कोरोनाको सङ्क्रमण देखिएर क्वारेण्टाइनमा राखेपछि ला लिगा आयोजकले लिग स्थगित गरेको हो ।
माउन्ट एभरेष्ट तेक्वान्दो स्थगित
यसैबिच यता नेपाल तेक्वान्दो सङ्घले ‘माउन्ट एभेरष्ट ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप’ स्थगित गरेको छ । बिहिबार प्रेस विज्ञप्ति निकाल्दै सङ्घले चैत १९ देखि २३ गतेसम्म हुने प्रतियोगिता कोरोना भाइरसको कारण स्थगित गरिएको जनाएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि प्रतियोगिता स्थगित गरिएको छ । यसका साथै सङ्घले अनुकूल परिस्थितिमा प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिने बताएको छ ।
कोरोनाको कारण यो वर्षको युरो कप अर्काे वर्ष हुने
यस्तै उता युरोपियन फुटबल महासङ्घ (यूई एफ ए)ले ’युरो कप २०२०’ को मिति एक वर्ष पछि सार्ने तयारी गरेको बताइएको छ । युरोपका धेरै फुटबल सङ्घले यूईएफएसँग प्रतियोगिता एक वर्ष सार्नका लागि पत्र पठाएको ’द सन’ले जनाएको छ । पछिल्लो पटक युरोपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण अर्को वर्षको गर्मीसम्मका लागि युरो कप सार्न अनुरोध गरेको बताइएको छ ।
युभेन्टसका डिफेन्डरलाई पनि कोरोना सङ्क्रमण
त्यस्तै इटालियन क्लब युभेन्टसका डिफेन्डर डानिली रुगानीलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । पछिल्लो पटकको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखिएको छ । २५ वर्षे डानिलीसँग रहेका अरु व्यक्तिलाई पनि आइसोलेशनमा राखिएको छ । इटलीमा कोरोनाको त्रासका कारण आउँदो ३ अप्रिलसम्म सबै खेलकुद गतिविधि बन्द गरिएको छ । यो सिजन युभेन्टसका लागि सात खेल खेलेका रुगानीले आइतबार भएको दर्शकबिनाको इन्टर मिलानसँगको खेलमा बेन्चमा थिए । त्यो खेलमा युभेन्टस दुई–शून्यले विजयी भएको थियो । कोरोनाको त्रासका कारण नै युरोपा लिगअन्तर्गत गेटाफेसँगको इन्टर मिलानको खेल स्थगित गरिएको छ ।
एसिया ११ र विश्व ११ बीचको खेल कोरोनाका कारण स्थगित
यता नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने भनिएको एसिया ११ र विश्व ११ बीचको प्रतियोगिता कोरोना भाइरसको त्रासका कारण स्थगित भएको छ । बङ्गलादेश क्रिकेट सङ्घले मार्च २१ र २२ तारिखमा गर्ने भनिएको प्रतियोगिता अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ । सेइख मुजीबुर रहमानको जन्मदिनको अवसर पारेर बङ्गलादेश क्रिकेट सङ्घले यो प्रतियोगिता गर्न लागेको थियो । ढाकामा हुने भनिएको प्रतियोगितामा एसिया ११ बाट विराट कोहली, लसिथ मालिङ्गा लगायतका खेलाडी खेल्ने तयारीमा थिए । यस्तै टिममा नेपाली खेलाडी सन्दीप लामिछाने पनि परेका थिए । तर बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नाज्मुल हसनले अर्को सूचना नआउँदासम्मका लागि प्रतियोगिता स्थगित भएको बताए । यसका साथै बोर्डले एआर रहमानको साङ्गीतिक कार्यक्रम पनि स्थगित गरेको छ ।
रोनाल्डो ‘क्वारेन्टाइन’मा
पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ‘नोबेल कोरोनाभाइरस’कोे आशंकामा ‘क्वारेन्टाइन’मा राखिएको छ । इटालियन क्लब युभेन्टसका स्टार खेलाडी रोनाल्डो आफ्नो बिरामी आमालाई भेट्न पोर्चुगल पुगेका थिए । युभेन्टसका अर्का खेलाडी ड्यानिएल रुगानीलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि रोनाल्डोलाई पनि क्वारेन्टाइनमा राखिएको हो ।इटालीमा कोरोना संक्रमण विकराल बनेपछि अहिले सिरी ‘ए’लगायतका सम्पूर्ण खेलहरु स्थगित छन् । रोनाल्डोलाई पोर्चुगल सरकारले चाहेको बेला इटाली फर्कनसक्ने अनुमति दिइएपनि कोरोना संक्रमणको आशंकापछि क्वारेन्टाइनमा राखिएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...