Archives


असोज २७

सबै स्थानीय तहमा  बैङ्कको पहुँचमा प्रदेश ५ अगाडि पुग्यो

 

यस पटकको दशैँमा प्रदेश ५ का प्रायःजसो स्थानीय तहका कर्मचारीले बैङ्कमार्फत तलब बुझे । सर्वसाधारणले पनि बैङ्कमार्फत नै रकम निकाल्ने र राख्ने गरे । यसअघि हुन्डी र व्यक्तिका भरमा रहेको रेमिट्यान्ससमेत बैङ्कमार्फत नै भित्रियो ।

यसको कारण हो, प्रदेशका सबै स्थानीय तहमा बैङ्कको पहुँच । प्रदेश ५ का १०९ वटै स्थानीय तहमा वाणिज्य बैङ्क स्थापना भएपछि कर्मचारी र सर्वसाधारणदेखि स्थानीय तहसम्मले सुविधा पाएका हुन् । यसअघि सबै स्थानीय तहमा बैङ्कको पहुँच नहुँदा केही स्थानीय तहले आफ्नो खाता सञ्चालन गर्न पाएका थिएनन् । कतिपय टाढा टाढाका बैङ्कमार्फत खाता र कोष सञ्चालन गर्न बाध्य थिए ।

सबै स्थानीय तहमा बैङ्कका शाखा पुगेपछि यो प्रदेशले बैङ्कको पहुँचमा देशभरका सबै प्रदेशलाई उछिनेको छ । प्रदेशका अधिकांश जिल्ला र स्थानीय तह कार्य क्षेत्र रहेको नेपाल राष्ट्र बैङ्क, सिद्धार्थनगरका सूचना अधिकारी रमेश न्यौपाने भन्नुहुन्छ, बैङ्किङ पहुँचका हिसाबले यो प्रदेश अन्य प्रदेशभन्दा अगाडि भयो । सबै स्थानीय तहमा बैङ्कको कारोबार सुरु भइसक्यो ।
नेपाल राष्ट्र बैङ्कले गत साउनअघि सबै तहमा शाखा पु¥याउने प्रबन्ध मिलाए पनि दशैँ अगाडिदेखि सबै तहका शाखा पूर्ण रूपमा कार्यान्वयनमा आएका हुन् ।

यसअघि प्रदेशका १०९ वटा स्थानीय तहमध्ये १०७ वटामा बैङ्कका शाखा सञ्चालनमा थिए । पछिल्लो पटक रोल्पाको सुनछहारी र अर्घाखा“चीको मालारानी गाउ“पालिकामा समेत बैङ्क पुगेपछि यो प्रदेश सबैभन्दा अगाडि रहेको हो । नेपाल नगरपालिका सङ्घ प्रदेश ५ का अध्यक्ष शिवराज सुवेदीका भनाइमा हरेक तहमा बैङ्क पुगेपछि अब प्रदेशका सबै स्थानीय तह आफ्नै ठाउँको बैङ्कमार्फत खाता खोल्न र खाता सञ्चालन गर्न सक्षम भएका छन् ।

प्रदेश ५ का सबै तहमा बैङ्क पुगे पनि अहिलेसम्म अन्य कुनै प्रदेशका सबै तहमा पहुँच पुग्न बाँकी छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार देशभरका ७५३ स्थानीय तहमध्ये १६ स्थानीय तहमा बैङ्क पुग्न अझै बाँकी छ । अहिलेसम्म ७३७ तहमा बैङ्कका शाखा पुगिसकेका छन् । सबै तहमा बैङ्क पु¥याउने सरकारको रणनीति अनुसार नेपाल राष्ट्र बैङ्कले २०७५ असारसम्म त्यस्तो लक्ष्य पूरा गर्न निर्देशन दिएको थियो तर २०७६ असार मसान्तसम्म देशका अधिकांश स्थानीय तहमा पहुँच पुग्न सकेको हो । बैङ्कको पहुँचको रणनीतिमा राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई प्राथमिकता दिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...