वर्षाका कारण कपिलवस्तुमा ढलेका सीमास्तम्भको मर्मत सम्भार कहिले सुरु हुने भने अन्योल देखिएको छ। सीमास्तम्भ निर्माणका लागि दुईपक्षीय सीमा सर्वेक्षण टोली नखटिएका कारण सीमास्तम्भ मर्मत अन्योलमा परेको हो।
गत असार र भदौमा आएको वर्षाले क्षति पुर्याउँदा कपिलवस्तुका २५ सीमास्तम्भ ढलेका र भत्किएका अवस्थामा छन् । असार २८ गते विजयनगर गाँउपालिका ५ स्थित चिरई खोलामा आएको बाढीले त्यहाँका ४ सिमास्तम्भ ढलेका थिए ।
त्यसैगरी केहीदिन अघि आएको वर्षामा थप २ वटा सीमा स्तम्भमा क्षतिको पुगेको सशस्त्र प्रहरी बलका एसपी जनक पुरीले जानकारी दिए। सशस्त्र बल र नेपाल प्रहरीले सीमा स्तम्भको निगरानी गर्दै आएको छ।
विजयनगर गाउपालिका–५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको सिमास्तम्भ नं। ५७८(७ ढलेको थियो । त्यो अझै पनि खोलामा डुबेको अवस्थामा छ। सोही सिमास्तम्भको आधा किमी उत्तर सिमास्तम्भ नं। ५७८(१० पानीमा लडेको छ। गाउपालिकाको वडा नम्बर ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको सिमास्तम्भ नं। ५७७(७ र ५७७(९ ढलेका छन् ।
जिल्लाका सुरक्षा निकायसँग चारवटा सिमास्तम्भ ढलेको तथ्यांक भए पनि उता विजयनगर गाउँपालिका–१, चमरका जंगलमा अरर्रा नदीको भेलले थप २ वटा सीमास्तम्भ क्षतिग्रस्त बनेको खुल्न आएको छ ।
गुगौली रेन्जपोष्टका सशस्त्र वन रक्षक नारायणप्रसाद तिमल्सिना सहितको टोलीले साता दिन अघि सो तथ्य फेला पारेको थियो। त्यहाँ क्षति भएका सीमा स्तम्भमा नं। ५८०(३ र नं। ५८७(७ छन् । भदौमा आएको बाढीले ती दुई सीमास्तम्भमा क्षति पुगेको हो ।
सीमास्तम्भ लडेपछि पटक–पटक निरीक्षणमा पुगेको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताए। उनले खोलामा आएको बाढीले सीमा स्तम्भमा क्षति पुगेको हुँदा अब निर्माण गर्दा ध्यान दिनुपर्ने बताए । छिटो निर्माण र मर्मतका लागि सशस्त्र प्रहरी र जिल्ला प्रशासनसँग अनुरोध गरेको अध्यक्ष थापाले बताए ।
सीमास्तम्भ निर्माणसँगै सो क्षेत्रमा तटबन्ध गरि नदीकटान रोक्न आवश्यक रहेको स्थानीयको माग छ । वर्षाको भेलले सीमास्तम्भ लडाएसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले निगरानी गर्दै आएका छन्।
सीमास्तम्भ बगेलगत्तै चन्द्रौटास्थित सशस्त्र प्रहरीको प्रदेश ५ को बिन्दबासिनी बाहिनीका बाहिनीपति नारायणदत्त पौडेल र तत्कालीन सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका गणपति प्रहरी उपरीक्षक दीपक अधिकारीको टोलीले स्थलगत अवलोकन गरेको थियो।
सीमास्तम्भ ढलेको बिषयमा सम्बन्धित निकायमा जानकारी दिइएको र ढलेको स्थानको नियमित निगरानी गरिरहेको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण कपिलबस्तुका गणपति शसस्त्र प्रहरी उपरीक्षक जनक पुरीले जानकारी दिए।