विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन अन्तर्राष्ट्रिय उडान थप गरिने

जन आवाज, काठमाण्डौ

सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउनको लागि अन्तर्राष्ट्रिय उडान थप गर्ने भएको छ ।उप प्रधानमन्त्री, पररास्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफलपछि प्रधानमन्त्री र उपप्रधान मन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताउनुभयो ।

मन्त्री भट्टराईले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुप्रति सरकार संवेदनशील भएको भन्दै उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशिस गरिरहेको पनि उल्लेख गर्नुभएको छ ।

समझदारी अनुसार पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका देशबाट एअरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने छ । कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने पनि समझदारीमा उल्लेख छ ।

यस्तै श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने छ । नियमित उडान नभएका देशमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गर्नेबारे पनि समझदारी भएको मन्त्री भट्टराईले जनाउनुभएको छ ।

सो्रत ः उज्यालो

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...