विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को कारण विभिन्न देशमा अलपत्र परेका ८० हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएका छन्। शनिबारसम्म ३२ मुलुकबाट ८० हजार १६ जना नेपाली स्वदेश फर्किएका कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सिसीएमसीले जनाएको छ ।
यसरी स्वदेश फर्किनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स युएइबाट २३ हजार २३७ जना छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन्। उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा विदेश गएका हुन्। केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ३८१, मलेशियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७, ओमनबाट एक हजार ३२५, बहराइनबाट एक हजार २७४, अष्ट्रेलियाबाट एक हजार ९१ जना आएका छन्।