कोरोना संक्रमणबाट मृत्यु भएका स्वास्थ्यकर्मीले अब २५ लाख पाउने

काठमाण्डौ ,५ माघ

आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समितिले उठाएका अधिकांश माग पूरा गर्न सरकार सहमत भएको छ।

पटक–पटकको वार्तापछि समिति र मन्त्रालयबीच हिजो बेलुकी १९ बुँदे सम्झौता भएपछि धेरैजसो माग सम्बोधन हुने भएको हो। सम्झौता अनुसार स्वास्थ्यकर्मीलाई कोभिड लगायत अन्य जटिल रोगको उपचारसहित सेवा सुविधा बढाउन सरकार सहमत भएको छ।

स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको जोखिम भत्तालगायत सेवा सुविधा दिलाउने विषयमा सम्झौता भएको हो। सबै स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई जोखिम भत्ता, यातायात, संचार र खाजा खर्च दिन सम्बन्धित कार्यालयले आवश्यक ब्यवस्था मिलाउने भएको छ।

ययअघि जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीको एकीन विवरण सम्बन्धित कार्यालयले तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गर्ने र मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरि अर्थ मन्त्रालयसँग रकम माग गर्ने सहमतिमा उल्लेख छ। जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ ले नसमेटिएका स्वास्थ्य संस्थाहरुमा नियमित हाजिर भै कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने सहमति भएको छ।

कोरोना भाइरसको संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि कार्यमा सम्लग्न जनशक्तिहरूलाई मृत्य पश्चात दिइने २५ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति सहज रुपले दिने व्यबस्था मिलाउने सहमति पनि भएको छ।

यसअघि सरकारले साउन १ गते भन्दा पछाडी मृत्यु भएका स्वास्थ्यकर्मीहरुको हकमा मात्रै २५ लाख क्षतिपूर्ति दिने व्यबस्था गरेकोमा अब त्यस अघिको मितिमा मृत्यु भएका स्वास्थ्यकर्मीको परिवारलाई पनि क्षतिपुर्ति दिने सहमति भएको हो।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...