औषधि बनाउँदै पढ्दै दाङको जनता विद्यापीठका विद्यार्थी

 

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको दाङको तुलसीपुर १८ बिजौरीस्थित जनता विद्यापीठका विद्यार्थीले औषधि बनाएका छन्। आयुर्वेद विभागअन्तर्गत उत्तरमध्यमा तह ९एएचए० अध्ययनरत दोस्रो वर्षका विद्यार्थीले प्रयोगात्मक अभ्यासका रूपमा औषधि उत्पादन गरेका हुन्।

यसरी प्रयोगात्मक रुपमा औषधि बनाउन पाउँदा आफूहरु धेरै खुसी भएको विद्यार्थी आश्मा बुढाथोकीले बताइन। उनले स्थानीय ठाउँमा भएको जडीबुटीहरु प्रयोग गरेर बनाएको र यस औषधिले श्वास प्रश्वास,रक्तपित्तलगायत रोगका बिरामीले प्रयोग गर्न मिल्नेसमेत उनले बताइन्।

‘हामीले पढाई मात्र नभइ औषधि बनाउने प्रयोगात्मक अभ्यास गर्‍यौं। जसले गर्दा हामीले धेरै फाइदा भएको छ। अब हामी आफ्ना घरको लागि पनि थोरै लगानीमा यो औषधि बनाउन सक्छौँ।’ उनले भनिन्। त्यस्तै, अर्का विद्यार्थी धन बहादुर केसीले यो औषधि हाम्रै वरपर खेर गइरहेको असुरो नामक जडिबुटीबाट बनाएको बताए।

यो आयुर्वेदको अत्यवश्यक औषधि भित्र पर्ने समेत उनको भनाइ छ। असुरो संकलन गरी २४ घण्टामा पानीमा भिजाएर, ८ घण्टा पानीमा पकाएर त्यसमा चिनी, पिपला, घ्यु र मह राखेर बनाउन सकिने समेत उनले बताए। यो औषधि आधा दर्जन भन्दा बढी रोग लागेका बिरामीहरुले प्रयोग गर्न सक्ने केसीले बताए। आफूहरुले बनाएको यस्ता औषधिको बजारीकरणको व्यवस्था भए थप हौसला लाग्ने समेत उनको भनाइ छ।

आयुर्वेद अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अतिरिक्त प्रयोगात्मक सीप दिने उद्देश्य अनुसार यस्तो सफलता मिलेको विद्यापीठका प्राचार्य योगराज शर्माले बताए। विद्यार्थीले उत्पादन गरेको औषधिलाई बजारमा सहज र नियमित गराउने प्रयास भइरहेको समेत उनले जानकारी दिए।

‘बाहिरबाट आएको औषधिले हामीलाई काम गर्दैन,’उनले भने,‘हाम्रै वरपर पाइने जडिबुटी नै हाम्रो औषधि हो। यहाँ त उल्टो भएको छ। यहाँबाट संकलन गरेर बाहिर जान्छ। तर, हामी कहाँ वास्तविक मात्र नहाली त्यो औषधि आउँछ।’ उनले आयुर्वेदले पैसा पनि दिने, कसैको उपचार गर्दा मित्रता पनि बढ्ने, सम्मान र धर्म पनि दिने भएकाले सबै यसप्रति जागरुक हुनुपर्ने समेत उनको भनाई छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...