सेती प्रादेशिक अस्पताल धनगढीमा बेड अभाव

जन आवाज अनलाईन काठमाण्डौ 

धनगढीको सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमितको उपचार गर्न बेड अभाव भएको छ । अस्पतालले क्षमता भन्दा धेरै बिरामी भएकाले गल्ली, पार्किङ र चउरमा समेत राखेर बिरामीको उपचार गरिरहेको छ ।

१८ वटा बेड रहेको इमेर्जेन्सी वार्डमा भुइँमा समेत राखेर २५ जनाको उपचार भइरहेको सूचना अधिकारी दिलिप श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । यस्तै ७० बेडको ओपीडी वार्डमा ९८ जनाको उपचार भइरहेको छ ।

‘बिरामी सिकिस्त भएर आउँछन्, ठाउँ छैन उपचार गदैनौँ भन्न मिल्दैन, हामीले गल्ली,प्यासेज, पार्किङ, चउर लगायतका क्षेत्रमा सामान्य बेड विच्छाएर उपचार गरिरहेका छौँ’, श्रेष्ठले भन्नुभयो ।

अस्पतालमा बिरामी धेरै र अक्सिजन सिलिण्डरको कमी हुँदा अक्सिजन पुर्याउन पनि मुस्किल परेको छ । दैनिक ६० सिलिण्डर अक्सिजन अस्पतालकै प्लान्टबाट उत्पादन हुन्छ तर बिरामी धेरै भएका कारण माग एक सय ६० सिलिण्डरको रहेकोले पुग्ने अवस्था छैन ।

अपुग अक्सिजन नेपालगञ्जबाट ल्याउने गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । ‘माग र आपूर्तिको सन्तुलन मिलाउन मुस्किल परिरहेको छ, सबैलाई बेड पुगेको भए पाइपबाट सप्लाइ गर्दा सजिलो हुने थियो तर गल्ली र पार्किङ क्षेत्रमा राखेका बिरामीलाई हरेकलाई एउटा सिलिण्डर दिनुपर्ने अवस्था भएका कारण माग र आपूर्तिको सन्तुलन मिलाउन गाह्रो छ’, सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...