धान नफलेपछि बाँके बर्दियाका किसान चिन्तित

 कार्तिक ८,

थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको बिचल्ली हुने भएको छ । एक सय २० दिनमा तयार भई तोरी छरेर चैते धान रोप्ने उद्देश्यले रोपिएको गरिमा जातको धान १५० दिन हुँदा पनि नपसाएपछि किसानहरु चिन्तित भएका हुन् ।

बर्दिया राजापुर–१० पहाडीपुरका किसान सालिकराम सिग्देलले गत जेठ २ गते बीउ राखेर असार ७ गते डेढ बिघा खेतमा रोपेको गरिमा जातको धान नपसाएपछि वर्षभरि हातमुख जोर्न धौ–धौ हुने बताए । उनले गरिमा धान नफलेको जनगुनासो आएपछि कृषकको खेतबारीमै पुग्नुभएका प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलसमक्ष आफ्नो व्यथा पोखेका छन् ।

“गत वर्ष पनि यसै खेतमा गरिमा जातकै धान रोपेको थिएँ । राम्रो फलेको थियो । यस वर्ष भने एग्रोभेटले नै गरिमा धानको बीउ भनेर नक्कली बीउ दिएर बिचल्लीमा पा¥यो,” सिग्देलले गुनासो गर्दै भने । उनले १२० दिनमा तयार भई तोरी छरेर चैते धान लगाउने सोचले एग्रोभेटको विश्वासमा परेर आफू ठगिएको बताउँदै अहिले खेतमा हरियो धानका रूपमा घाँसमात्र रहेको गुनासो गरे ।

तीन बाली हुने लोभले गरिमा धान रोपेकी बर्दिया राजापुर नगरपालिका–८ बञ्जारे टौडाकी किसान रामकुमारी थारूले आफूसँग भएको पाँच कठ्ठा जमीन सबैमा रोपेको तर, पाक्ने बेलामा पनि धान नपसाएपछि के खाने भन्ने चिन्ता भएको गुनासो गर्दै भने, “हाम्रो सबै खेतमा गरिमा धान रोपेका थियौँ । यो धान रोप्दा तीन बाली लगाउन पाइन्छ भनेको त एकै बाली भएन, वर्षभरि कसरी गुजारा चलाउने हो भन्ने पीरले रातभर निद्रा नै पर्दैन ।”

राजापुर नगरपालिका–५ भौराका शोभनलाल थारूले गोरखनाथ धानको बीउ लिन एग्रोभेट जाँदा धेरै फल्छ भनेर एग्रोभेटबाटै गरिमा धानको बीउ दिएर पठाएको बताए ।

राजापुर–५ कै पोहरी थारूले आफूसँग भएको सबै तीन कट्ठा जमीनमा धेरै बाली भित्र्याउने लोभमा गरिमा धान रोपेको तर एग्रोभेटले नै गरिमा जातको भन्दै नपसाउने धानको बीउ दिएर आफूहरुको बिचल्ली पारेको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ राजापुर ९ धान सुपरजोन०का प्रमुख तपेन्द्रबहादुर शाहले बर्दियाको राजपुरमा १५० हेक्टर जमीनमा लगाइएको गरिमा धान नपसाएको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको र यो तथ्याङ्क अझ बढ्न सक्ने बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...