२०७९ आश्विन ३०, आईतवार ०६:४३

कतिपय व्यक्तिहरुको जीवन नै एक पाठशाला बनिदिन्छ । मान्छेहरु विद्यालयबाट शिक्षा आर्जन गर्छन तर कहिलेकाहीँ यस्तौ भैदिन्छ कि एक व्यक्तिमात्र पनि विश्वविद्यालय बनिदिन्छ । जसको ज्वलन्त उदाहरण हुनुहुन्छ टंक प्रसाद आत्रेय (बडेगुरु) ।
बडेगुरु भारतको वस्ती मण्डलको लागि एक उर्जाशील शैशिक व्यक्तित्वको परिचय हो । चार दशक लामो साधना र सेवा खर्चिएको ठाउँ । माण्डव्य ऋषिको तपस्थली नेपालमा जन्मिएर भारतलाई शिक्षाले सिञ्चन गर्नुभएका महान हस्ति आज हामीबाट विदा भैसक्नुभएको छ ।
हामी पूर्वीय सभ्यताका पूजारी हौं । हामी प्रारब्धलाई विश्वास गर्छौं । उहाँको भारत गमन र सेवा पनि त्यहि प्रारब्धकै उर्जा हुन सक्छ । लगभग ६० प्रतिशत जीवनकाल भारतमै बसेर सकिए पनि नेपाल र भारतका विद्यार्थीका लागि उहाँ गहकिलो बरदान हुनुहुन्थ्यो । वि.सं. २०२४ सालबाट शिक्षणपेशामा लाग्नुभएको उहाँले नेपालका हजारौं विद्यार्थीलाई आफ्नै पाठशालामा लगेर शिक्षाको ज्योति दिलाउनु भएको छ ।

संस्कृत साहित्यबाट स्नातकोत्तर (साहित्याचार्य) गर्नुभएको उहाँले भारतका ठूला—ठूला संस्थान, विश्वविद्यालयहरुबाट अध्यापनको लागि अनुरोध आउँदा पनि उहाँ अटल विश्वासका साथ एकै ठाउँमा सेवा गरेर विद्यालयको स्तर उन्नतीको लागि खटिरहनुभयो ।
मान्छे बडो विचित्रको प्राणि हो उसका इच्छा आकांक्षा असिमित हुन्छन् । उहाँको आकांक्षा बढेको महसुस् हामीलाई कहिल्यै भएन । भारतको त्यसबेलाको विकट गाउँ जहाँ उहाँले शिक्षाको योगदान दिनुभयो । जो कोहि आकांक्षी मान्छे त्यस स्थानमा सान्त मनोभावले बस्न सक्दैन । त्यो उहाँको सरल व्यक्तित्वले मात्र उपयुक्त हुन्छ । जुन गाउँ भौतिक विकासका हिसाबले अहिले पनि विकट जस्तै नै छ । तर हामीजस्ता शिष्यहरुका लागि त्यो ठाउँ बरदान बनेको छ । जसको आभाले गर्दा हामीहरुले थोरै भएपनि शिक्षको उज्यालो पाएका छौं ।

भिउरा र बडेगुरु

भिउरा एक प्रसिद्ध नाम हो र भिउरा संगै जोडिएर आउने अर्को नाम बडेगुरु । हामीजस्ता हजारौं विद्यार्थीका लागि भिउरा र विन्ध्येश्वरी संस्कृत पाठशाला सम्झनाको तरेलीमा बगीरहने स्थान हुन् । जसको एकमात्र सूत्रधार बडेगुरु नै हो । शिक्षाको सूत्रधार , पथ प्रदर्शकको सूत्रधार । आजका अधिकांस विद्यार्थीहरु उचित मार्गदर्शनको कमीले बडो अन्यौलमा छन् र आजपनि बडेगुरु जस्ता महान गुरुको आवश्यक छ । जसले विद्यार्थीको नितान्त हित चाहन्छ, उन्नती चाहन्छ, सद्गती चाहन्छ । चाहे दुर्गा सप्तसती होस्, चाहे मध्यसिद्धान्तकौमुदी सबै विषयहरु हरेक समयमा पढाउन तत्पर हुने बडेगुरुको व्यक्तित्व अतुलनीय नै छ । आज शिक्षाको सौदाबाजी हुन्छ , मोल मलाई हुन्छ , शिक्षाको ठूलो व्यापार चलिरहेको छ । आजको विकराल परिस्थिती र भिउराको त्यो स्वच्छ, निश्चल गाउँको सरल बाताबरणमा निःस्वार्थ भावले अध्यापन गराउने शिक्षागुरुलाई सम्झिदा यस्तो लाग्छ कि संसारले उल्टो गति लिन थालीसकेको छ ।
कालिमाईको थान, पाठशालाका ती तीन भवन, त्यहाँ शिक्षार्जन गरेका हरेक विद्यार्थीको मन मस्तिष्कमा बस्न सफल स्थानहरु हुन् । गाउँको वरीपरी रहेका ससाना पोखरी, खडंजा बाटो । पढ्दा बस्ने चटाई । मैदान जाने निश्चल परिपाटी सम्झनाका तरेलीहरुमा झल्किरहने भावहरु हुन् । त्यहाँ निःस्वार्थ प्रेम छ नेपालका लागि । नेपाली गुरुका लागि । बडेगुरुको ५० वर्षको विरासतले युगौ युगसम्म पनि त्यस भूमिलाई सिञ्चित गरिरहने छ ।

शिक्षा र व्यक्तित्व

प्रारम्भिक शिक्षा लालपाटी र मनदपोखरामा लिनुभएको उहाँले त्यसपछिको अध्ययन भने भारतको वस्ती जिल्लमा पर्ने तामेश्वरनाथ देवरीयाको आदर्श संस्कृत महाविद्यालयबाट साहित्याचार्य सम्मको अध्ययन पुरा गर्नुभएको थियो ।
सन्त जीवनशैली, सरल स्वभावका धनी बडेगुरुको व्यक्तित्व अतुलनीय थियो । एक गृहस्थ ३ सन्तानको पिता भैकन पनि सादगी र सन्त स्वभावले गर्दा गृहस्थ सन्तको रुपमा उहाँको व्यक्तित्व जीवन्त झल्किरहन्थ्यो । म अलि सन्त रुचाउने भएर होला पछिल्ला समयका भेटहरुमा उहाँसंग संतहरुको बारेमा कुराकानी गर्थें । उहाँ भारतका सुप्रसिद्ध सन्त करपात्रीजी महाराजबाट अधिक प्रभावित हुनुहुन्थ्यो र भन्नुपनि हुन्थ्यो यदि सन्त नै बन्ने हो भने करपात्री जस्ता महान सन्तको शिष्य बन्नु पर्छ ।
कौपिन, सेतो धोति र कुर्ता उहाँको पहिरनको प्रकृति हो । हामीआज कौपिनबाट धेरैटाढा पुगिसकेका छौ । धोतीकुर्तासम्म छेउछाउमा कहिलेकाही पर्दछन् । हामी बस्त्रलाई त्यति महत्व दिन छोडीसकेका छौ । तर वस्त्रले व्यक्तिको परिचय र मूल्य बढाउनका लागि अनुशासनको रुपमा ठूलो भूमिका खेल्दछ । होइनभने आज हामी ड्रेस र पोशकको कुरा किन गछौं ?
व्यक्तिको व्यक्तित्वलाई नियाल्ने कडी भनेको उसको सोंच, विचार र विवेकको आधारमा हो । बडेगुरुको सोंच विचार र विवेको स्तर उच्चस्तरीय थियो मान्छे आफु थोरै विद्वान भैसकेपछि आफ्नै विचार र अनेक किसिमका निग्रह लाद्न थाल्दछन् । उहाँ विद्वान भैकन पनि त्यस्तो कहिल्यै गर्नुभएन । जोकोहीको विचारलाई पनि सश्रद्धा सुन्नुहुन्थ्यो तर यस्तै गर्नुपर्छ भने बाध्यात्मक स्थिती कहिल्यै पार्नु हुदैन थियो ।
उहाँको व्यक्तित्वको अर्को आयाम हो अध्यात्म साधना । अध्यात्म जीवनको अन्तिम लक्ष्य हो । मनुष्यमात्रको लागि अध्यात्म पछि कुनैपनि लक्ष्य बाँकी रहदैन । भगवान भोलेनाथको उपासना गर्न रुचाउने उहाँ शक्तिको पनि बेला बेला साधना गरिरहनुहुन्थ्यो । नवरात्रीमा उपवास बस्ने माताको सेवा गर्ने संस्कार मैले उहाँबाटै पाएको छु ।
बडेगुरु आफ्नो कालको एक सरल साधन हुनुहुन्थ्यो । विद्यार्थीहरु प्रति उहाँको प्रेम साह्रै अनौठो थियो । उहाँको प्रेम बुझ्न प्रत्येक विद्यार्थीलाई निकै समय लाग्ने गथ्र्यो । उहाँको मार्गदर्शनले धेरैको उद्धार भएको छ । पाल्पा मदनपोखराका अधिकांस विद्यार्थीहरु उहाँकै मार्गदर्शनमा बस्ती पुगे भिउराको माटोमा शिक्षार्जन गरे र नेपाल आएर सेवा प्रारम्भ गरे । धेरैले अवकास प्राप्त गरिसके । कति अझै आ आफ्नो क्षेत्रमा कार्यरत छन् । भारतका विद्यार्थीहरुको त आँकलन नै छैन । उहाँको आधा भन्दा बढी जीवन भारतमै बित्यो ।

जीवन रुपान्तरण गर्ने पथ प्रदर्शक

जीवनलाई कता लैजाने ? के गर्ने ? भन्ने कुराको निक्र्यौल गर्न सकिएन भने जीवन धरासायी बन्छ । कक्षा ८ सम्म नेपाल मै अध्ययन गरिरहेको म खासै पढाइमा अब्बल थिइन । धरको आर्थिक अवस्था पनि सामान्य भएका कारण मेरो अध्ययनको बाटो बडेगुरुको मार्गदर्शनमा संस्कृततीर मोडियो । सानो बालक पढ्ने भन्दा पनि भारत जान पाउने खुसीले बस्तीतीरको यात्रा तय गरिएको थियो । हजारौं बस्ती गएर पढेर फर्किए तर म त्यस ठाउँको अन्तिम नेपाली विद्यार्थी हुन् पुगे । मेरा हजुर बुबा, बुबा पुस्ताले पढेको ठाउँमा पढ्न पाउनु आफैमा खुसीको कुरा थियो । खुसी—खुसी बस्ती पुगियो । विहान स्नान सन्ध्या पछि चटाईमा बसेर बडेगुरुका बुलन्द आवाजलाई पछ्याउदै वागर्थाविव संम्पृक्तौ……….., नत्वा सरस्वतीं देवीं जस्ता पाठहरु साह्रै स्मरणीय तरिकाले पढ्दै यात्रा तय गरियो । दुर्गाशप्तसतीको यद्गुह्यं परमं लोके………. सुरु सुरुमा उच्चारण गर्नै सकिएन पछि पछि निरन्तर पढेपछि आउन थाल्यो ।

मेरो प्रारम्भिक अध्ययन कपिवस्तुमैं भएपनि बास्तविक अध्ययन बस्तीबाटै सुरुभएको हो । मेरो अध्ययनको जराजरामा भिउराको बाताबरण र बडेगुरु, छोटेगुरु र रामलाल गुरुको संस्कार भरिएको छ । जीवनको पथ प्रदर्शनमा यी तीन नामहरु अग्रपंक्तिमा संघै आइरहनेछन् । यी तीन नाम मध्ये बडेगुरुको स्थूल शरीर हामीमाझबाट बिदा भैसकेको छ । उहाँ गएसंगै उहाँको विरासत पनि नजाओस् उहाँको विसद् विरासतलाई बचाउने प्रयास उहाँका चेलाहरु हामी सबैले गर्नुपर्छ । उहाँको सादगी, सरल जीवन , एक सन्त प्रकृतिको थियो यसमा कुनै संका छैन । उहाँ मुक्त पुरुष नै हुनुहुन्थ्यो । तर पनि हामी सबैको एकमात्र प्रार्थना यहि छ कि अबको यात्रा परमेश्वरले सुखद् र सरल बनाइदेउन् ।

अस्तु !!!

शिष्य : कमल पौड्याल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय