मंसिर तिलोत्तमा —
लुम्बिनी प्रदेशमा पछिल्लो चार महिनायता सवारी दुर्घटनाबाट १ सय ६५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा १ सय ७५ जना घाइते भए । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी १ सय ९ जना सामान्य घाइते भएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सडक दुर्घटनामा धेरै दुर्घटना हुनेमा रुपन्देही जिल्ला पहिलो नम्बरमा देखिएको छ ।
रुपन्देहीमा गएको चार महिनामा १ सय १४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट ३८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक रहेको छ । दुर्घटनामा परी ६१ जना गम्भीर घाइते भएका छन् भने १९ जना सामान्य घाइते भएका छन् । त्यस्तै, कपिलवस्तु जिल्लामा गत चार महिनामा ६० वटा सवारी दुर्घटना भएकोमा २७ जनाको मृत्यु भएको छ । ४४ जना गम्भीर घाइते भएका छन् । १२ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।