गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका–७ वामीमा एक महिलाको हत्यामा संलग्न आरोपितहरू पुर्पपक्षका लागि कारागार चलान भएका छन् । वामीको न्वारमा होटल सञ्चालन गर्दै आउनुभएकी ५८ वर्षीया गंगा शेरचनको गएको माघ १५ गते हत्या भएको थियो ।
शेरचनको शव आफ्नै होटलभित्र प्लास्टिकको टेपले हातखुट्टा र मुख बाँधेको अवस्थामा फेला परेको थियो । उहाँको हत्यामा संलग्न बाग्लुङको बडीगाड गाउँपालिका ७ का थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका ७ का लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का शिवबहादुर तामाङलाई पक्राउ गरी गुल्मी जिल्ला अदालतबाट पुर्पक्षका लागि जिल्ला कारागार गुल्मी पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी कार्यालयले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० काठमाण्डौको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गएको फागुनमा पक्राउ गरेको थियो । उनको बयानको आधारमा तीन जना मिलेर सामूहिक हत्या गरेको खुलेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो ।
त्यसपछि हत्यामा संलग्न रहेका लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई गएको चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो । त्यसपछि उनीहरूको बयानको आधारमा हत्यामा संलग्न पुष्टि भएपछि उनीहरूलाई बुधवार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
हत्यामा संलग्न तीनै जनाको बयानका आधारमा अझै एक जना फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२०८० बैशाख २०, बुधबार २०:३२
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech