काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले छुट सुविधाबारेको विवरण नदिने ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभएको छ ।
विपन्न एवम् लक्षित वर्गलाई स्वास्थ्य संस्थाबाट कुल शय्याको १० प्रतिशत निःशुल्क उपचार तथा त्यसबारेको विवरण उपलब्ध गराउन यसअघि महानगरले आफ्नो क्षेत्रभित्रका स्वास्थ्य संस्थालाई सूचित गरेको थियो ।
तर ती स्वास्थ्य संस्थाले विवरण नदिएकोबारे मेयर शाहले स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई भेटेर नै ध्यानाकर्षण गराउनुभएको हो ।
मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षणसहित अटेरी गर्नेलाई कारबाही गर्न आग्रह गर्नुभएको छ ।
मन्त्रालयले ती स्वास्थ्य संस्थालाई ७ दिनभित्र कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने मेयर शाहले चेतावनी दिनुभएको छ ।
गएको ७ गते मेयर शाहले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने बताउनुभएको थियो ।
उहाँले अस्पतालमा १० प्रतिशत शय्या छुट्याएर गरिब तथा विपन्न बिरामीलाई उपचार दिएको विवरण हरेक महिनाको १० गते भित्र बुझाइसक्न पनि निर्देशन दिनु भएको थियो ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड–२०७७, परिच्छेद २४ दफा ७० घ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको भन्दै उहाँले ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।
त्यसअघि गएको २ गते काठमाण्डौ महानगरपालिकाले उपचारका लागि पुग्ने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार दिन महानगरभित्रका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो ।
२०८० जेष्ठ १७, बुधबार ११:४१
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech