बुटवल । अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले विद्यालय बन्द गर्ने भएका छन् । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गरी सोमबारदेखि असार १७ गतेसम्म पठनपाठन बन्द हुने जनाएको छ ।
नगरप्रमुख स्तरीय निर्णयानुसार विगत केही दिन देखी बढीरहेको तापक्रमले अत्याधिक गर्मी भई विद्यालयहरुमा पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुदाँ वार्षिक विदावाट समायोजन हुने गरी मिति २०८० । ०२ । २२ गते देखी २०८०।०३ । १७ गते सम्म नगर भित्रका सम्पुर्ण शैक्षिक संस्था ९ सामुदायिक तथा संस्थागत० हरुमा बिदा गर्ने निर्णय भएकोले सोही अनुसार गर्नुहुन जानकारी गराइन्छ ।’– तिलोत्तमा नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
यस्तै रुपन्देहीको सैनामैना नगरपालिकाले भने भोलिदेखि जेठ २४ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयलाई विदा दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरभित्रका सबै विद्यालय भोलिदेखि जेठ २४ गतेसम्म बन्द हुने जनाएको हो ।
‘विगत केही दिनदेखि अत्याधिक मात्रामा तापक्रम बृद्धि हुँदा दिउसोको समयमा विद्यालय जाँदा आउँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएकोले यस सैनामैना नगरपालिका अन्तर्गत संचालित सम्पूर्ण विद्यालयहरु मिति २०८० जेठ २२ देखी २४ गते सम्म वर्षे विदाबाट कट्टा हुनेगरी गर्मी विदा गरिएको व्यहोरा अनुरोध छ ।’– सूचनामा भनिएको छ ।