काठमाडौं – नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक सेयर आइपीओ मा आवेदन दिने प्रक्रिया स्थगन गरेर अनुसन्धान थालेको करिब १० दिन हुन लाग्दा पनि यसमाथिको अध्ययन अझै सकिएको छैन । धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो । कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो । विशेषतः यस कम्पनीको आइपीओमा फर्जी आवेदन धेरै परेकाले यसमाथि अनुसन्धान थालिएको हो ।
तथापि, आइपीओ निष्कासन प्रक्रिया स्थगित भए पनि त्यसअघि अघि आवेदन दिएका लगानीकर्ताको पैसा भने ब्लक भइरहेको छ । पैसा ब्लक भएपछि कहिले फुकुवा हुने हो भन्नेमा आवेदकहरुमा चासो र चिन्ता जारी रहेको छ । सर्वसाधारण लगानीकर्ताको ४ अर्ब रुपैयाँ ब्लकघोराही सिमेन्टको आइपीओ प्रक्रिया स्थगित हुँदा सर्वसाधारण लगानीकर्ताको करिब ४ अर्ब रुपैयाँ ब्लक भएको छ । सीडीएसीको तथ्यांक अनुसार आइपीओ स्थगित भएको दिन असार ४ गते सम्ममा ५ लाख ६२ हजार १८२ जना लगानीकर्ताले २ करोड २६ लाख १८ हजार ७७० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ आइपीओ जारी गरेको हो ।जसअनुसार यस आइपीओमा करिब १० अर्ब ९९ अर्ब ८३ करोड ९१ लाख ६४ हजार रुपैयाँ० बराबरको आवेदन परेको छ ।
जसमध्ये १ करोड ३६ लाख १५ हजार ५ सयभन्दा बढी कित्ता अर्थात् ५ अर्ब ९२ करोड २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको फर्जी आवेदन परेको सीडीएसको भनाई छ । यसरी कुल परेको आवेदनबाट फर्जी घटाउँदा पनि करिब ३ अर्ब ९१ करोड ६३ लाख रुपैयाँभन्दा बढी सर्वसाधारणको पैसा ब्लक भएको देखिन्छ । तथापि, उक्त रकममा केही तलमाथि हुन सक्ने सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले नेपाली पैसालाई बताए । यता, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल भने आइपीओमा आवेदन दिएका लगानीकर्ताले आवेदन खारेज गरेर रकम लिन सक्ने व्यवस्था गरेको दाबी गर्छन् । ‘धितोपत्र बोर्डले अध्ययन समिति गठन गरेकै दिन लगानीकर्ताले चाहेमा आइपीओको आवेदन रद्द गरेर रकम फिर्ता लिन सक्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।
’उनले उक्त कुराको दाबी गरे पनि सीडीएसमा भने धितोपत्र बोर्डबाट आइपीओमा आवेदन दिएको रकम फिर्ता गर्न कुनै निर्देशन नआएको एक अधिकारीले बताए ।‘हामीलाई आइपीओमा आवेदन दिएको रकम फिर्ता गर्न कुनै पनि निर्देशन आएको छैन’ ती अधिकारीले भने, ‘रकम फिर्ता लैजान मिल्ने गरेर हामीले सिस्टममा अहिलेसम्म व्यवस्था नै गरेका छैनौं ।
’धितोपत्र बोर्डले गठन गरेको अध्ययन समितिले के गर्दैछ ? घोराही सिमेन्टको आइपीओमा जालसाँजी भएको कि होइन भनेर अध्ययन गर्नका लागि धितोपत्र बोर्डले अध्ययन समिति गठन गरेको पनि एक साताभन्दा बढी भएको छ । उक्त अध्ययन समितिले हालसम्म अध्ययन प्रतिवेदन बोर्ड समक्ष बुझाएको छैन ।
धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले उक्त समितिले अहिले पनि अध्ययन गरिरहेको जानकारी दिए । ‘अहिले अध्ययन समितिले यस आइपीओमा जालसाँजी भएको हो कि होइन भनेर अध्ययन गरिरहेको छ’ उनले भने, ‘हामीले जति सक्दो छिटो प्रतिवेदन बुझाउन भनेका छौं ।’ नियामक धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपीओ धितोपत्रसम्बन्धी ऐनको दफा ९८ अनुसारको जालसाँजी हो कि होइन भनेर पनि अध्ययन भइरहेको अध्यक्ष हमालले नेपाली पैसालाई बताए ।
धितोपत्र बोर्डले बोर्ड सञ्चलक समीति सदस्य सुजन कुमार काफ्लेको संयोजकत्वमा मूल्याकंन कमिटी गठन गरेर अध्ययन सुरु गरेको हो । अध्ययन, अनुसन्धान जारी रहेको भन्दै सार्जजनिक गर्न विलम्ब भएको हो । प्रतिवेदन आएपछि मात्रै कसरी अघि बढ्ने भनेर निर्कोल हुने धितोपत्र बोर्डको भनाई रहेको छ । यता, कतिपय लगानीकर्ताले भने यो आइपीओ नै रद्द गरेर पुनः नयाँ निष्कासन प्रक्रिया थाल्नुपर्नेसमेत माग गरिरहेका छन् । यसको रेटिङमा समेत आशंका गरिएकाले कम्पनीको वित्तीय सूचकहरुको विश्वसनीयतामा समेत प्रश्न उठेको छ । यसआधारमा पुनः रेटिङ गर्नुपर्ने आवाज पनि उठिरहेको छ । यस्तै, ४ सय ३५ रुपैयाँ मूल्य पनि महँगो भएको उनीहरुको भनाई रहेको छ ।