बुटवल, असार । लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् ।
आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत गरी ३ अर्ब ५० करोड लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए ।
एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबलकार चढेका र यस वाहेक विशिष्ट व्यक्तिहरु, कलाकार, सेलिब्रिटीहरु समेत गर्दा करिब ३० हजार जना पुगेका लुम्बिनी केबलकार प्रालिका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । जसमध्ये ८७।९४ प्रतिशत नेपाली, ७।२५ प्रतिशत भारतीय र तेस्रो मुलुकका ११ जना रहेका सैंजूले बताए ।