काठमाण्डौ – सत्तारूढ नेपाली कांग्रेसले पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनको विषयमा छलफल नभएको बताएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताउनुभएको हो । आज आइतवार दलको बैठकपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बैठकमा सरकार बदल्ने, सरकार ढाल्ने, सरकार फेर्ने र अर्को सरकार बनाउने कुरा भएको छैन ।’
प्रमुख सचेतक लेखले संसदीय दलको बैठक भोलि पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरूले राख्ने सुझावलाई समेटेर महत्त्वपूर्ण प्रस्ताव पारित गर्ने बताउनुभयो । गएको शुक्रवार र आज बसेको बैठकमा ५० जना सांसदले धारणा राखेका छन् । बैठक भोलि सम्पन्न हुनेछ ।