दाङ ५ भदौ ।लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले प्रदेश सरकारका सवै मन्त्रालयहरुले जनताका जनजिवीकामा आर्थिक तथा सामाजिक रुपान्तरण हुने खालका योजना बनाएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।उनले हाल सम्म राजनीतिक पहुँच र कर्मचारीलाई हित हुने गरी काम गरेको स्मरण गर्दै आगामी दिनमा फरक शैलीमा काम गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री चौधरीले प्रदेशका सवै मन्त्रालयबाट प्राप्त उपलब्धि आशा गरे जस्तो नभएको बताउँदै त्यसको भागीदार राजनीतिक मात्र नभएर केही कर्मचारी समेत दोषी रहेको बताए ।उनले लुम्विनी प्रदेशमा ३७ प्रतिशत मानिस गरिवीको रेखामुनी रहेको बताउँदै उनीहरुको आर्थिक समृद्धि हुने गरी योजना बनाएर काम गर्नु पर्ने बताए ।
प्रदेशका मन्त्रालयहरु केहीले मनोमानी ढंगले व्यक्तिमुखी बजेट विनियोजन गरेकोप्रति व्यंग्य गदै कम्तीमा पनि नियम संगत विधि, नियमावली बनाएर काम गर्न पनि निर्देशन दिए । स्थायी राजधानी स्थान्तरण गरेको झण्डै १ वर्ष बितिसक्दा पनि राजधानीमा स्वास्थ्य, शिक्षाका क्षेत्रमा निकै पछाडी परेको बताउँदै सम्वन्धित मन्त्रालयले एक्शनमा काम गर्न निर्देशन दिदै बजेट अभाव हुन नदिने बताए । मंगलबार लुम्विनी प्रदेश सरकार लुम्विनी प्रदेश योजना आयोग देउखुरीको आयोजनामा प्रदेश विकास समस्या समितिको २ दिने कार्यशला गोष्ठी तथा आर्थिक वर्ष २०७९/८० वार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री चौधरीले समितिका कार्यक्रममा सकारात्मक पक्ष भन्दा योजना कार्यान्वयनमा आइ परेका चुनौतीलाई पहिचान गर्न सकेमा आगामी योजना बनाउन सहज हुने वताए । सो कार्यक्रममा प्रदेश सरकार अन्तर्गत रहेका सवै मन्त्रालयहरुबाट भएका उपलब्धि र चुनौतीका विषयमा सम्वन्धित मन्त्रालयका सचिवहरुले सहजीकरण गरेका थिए ।जस अन्तर्गत सवै मन्त्रालयबाट आर्थिक वर्ष २०७९र८० मा सरदर ४९ प्रतिशत प्रगति भएको सवै भन्दा कम सहकारी मन्त्रालयबाट सहकारीतर्फ ३ प्रतिशत काम भएको प्रगति विवरण पेश गरेका थिए ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव लाल वहादुर कवारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव जनार्दन शर्मा, अर्थका सचिव केदार शर्मा, कृषि सचिव यमनारायण देवकोटा, सामाजिक विकासबाट सचिव कृष्ण प्रसाद पन्त, भौतिक तथा पूर्वाधारवाट सचिव सुनिल पौडेल, उद्योग, पर्यटन तथा यातायातबाट निमित्त सचिव राजेन्द्र पन्थी, वन तथा वातावरणबाट सचिव कृष्ण प्रसाद शर्मा, खानेपानी तथा ग्रामीण मन्त्रालयबाट जक्की अहमद अन्सारीले मन्त्रालयको वार्षिक प्रगती विवरण र चुनौतीका वारेमा प्रस्तुति गरेका छन् । २ दिन सम्म चल्ने सो कार्यशाला गोष्ठीमा कुन कुन क्षेत्रबाट भौतिक तथ वित्तीय प्रगती भयो , त्यसबाट पारेका मध्यकालीन र दीर्घकालिन प्रभावका वारेमा वृहत छलफल गरिने योजना आयोगका उपाध्यक्ष नकुल केसीले बताए ।