काठमाडौं-
हृदयघातबाट गए राती निधन भएका संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला पर्नुभएको परिवारका सदस्यले जनाएका छन । राती १ बजे शौचालयमा बेहोस अवस्थामा परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उहाँको मृत्यु भइसकेको थियो ।एमाले उपाध्यक्ष नेम्वाङ बालुवाटारस्थित निवासमा हुनुहुन्थ्यो । परिवारका सदस्यहरुका अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिनुभएको थियो । उहाँलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।
अस्पतालका चिकित्सकहरुका अनुसार अस्पतालमा १ः५० बजे ल्याइपुर्याउँदा साइन्स अफ लाइफ भन्ने केही पनि थिएन । ईसीजी, सीपीआर गरेर मेडिसिन दिएर हेर्दा केही पनि नभएपछि कन्फर्म डेथ भन्ने निष्कर्षमा पुगिएको थियो ।नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुग्नुभएको थियो । अहिले अस्पतालबाट नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । एमालेले भोलिसम्म पार्टी कार्यालयमा नै अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर राख्ने बताएको छ ।
जनता टाइम्स वाट