भैरहवा —
रुपन्देही जिल्ला ट्राफिक प्रहरीले गाडीका नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ । नम्बर प्लेट स्पष्ट नहुँदा गाडी पहिचानमा समस्या भएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । अभियान सञ्चालन गरेको एक सातामा करिब एक हजार ६ सय गाडी र मोटरसाइकलको नम्बर प्लेट सुधार गरिएको कार्यालयले जनाएको छ ।
अभियानका क्रममा साना–ठूला गरी १ हजार ५ सय ७२ सवारीका साधनको नम्बर प्लेट सुधार गरिएको जिल्ला ट्राफिक प्रमुख बजिरसिंह विष्टले जानकारी दिए । नम्बर प्लेट प्रष्ट नदेखिने र विभिन्न संकेत राखिएका नम्बर प्लेट सुधार गरिएको उनले बताए । ट्राफिकले जिल्लाभर यस्तो अभियान सञ्चालन गरेको छ । ठाउँ–ठाउँमा जाँच गरेर तुरुन्तै नम्बर प्लेट सुधार गर्न लगाएर मात्रै छाड्ने गरिएको विष्टले जनाए । पहिलो चरणमा अभियान सोमबारसम्म सञ्चालन गरिएको थियो । अभियानलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ ।